काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडी मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सरकारले विभिन्न कार्यक्रम गरिरहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाउनु भएको सवालको जवाफ दिँदै सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका विरुद्ध सचेतना फैलाउने विभिन्न कार्यक्रम भइरहेका बताउनुभयो ।
जिल्ला तहसम्म विभिन्न सचेतनामूलक कार्यक्रम भइरहेका उहाँले बताउनुभयो । पीडितको सुरक्षाका लागि विभिन्न पुनर्स्थापना केन्द्र सञ्चालन गरिएको र उनीहरूको लागि विभिन्न सिपमूलक तालिम समेत सञ्चालन गरिएको सुडीले जानकारी दिनुभयो ।
मानव बेचबिखनमा परी विभिन्न देशमा पुगेको मानिसहरूको समेत उद्धार, पुनर्स्थापना, तथा पुनर्एकीकरणका कमा गरिएको उहाँले जानकारी दिनुभयो । यसको नियन्त्रणका लागि रोकथाम, उद्धार तथा संरक्षण, कानुनी कारबाही, क्षमता अभिवृद्धि तथा समन्वय र सहकार्यका काम गरिरहेको उहाँले बताउनुभयो ।
