काठमाडौं । प्रतिनिधि सभा सदस्य ठाकुरप्रसाद गैरेले कांग्रेस र एमालेको सरकार बनेपछि राष्ट्रमा सकारात्मक सन्देश सञ्चार भइरहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकका विशेष समयमा बोल्दै गैरेले देशको अर्थतन्त्रका सूचकहरूमा सकारात्मक सङ्केतहरू देखिएका बताउनुभयो । स्वदेशी तथा बाह्य लगानीकर्ताहरू नेपालमा लगानी गर्न आकर्षित भएका सन्देश आएका उहाँले बताउनुभयो ।
सिङ्गो सदनमा राष्ट्रिय सहमति बनाएर संविधानका सुधार गर्नुपर्ने पक्ष संशोधन गरेर अघि बढ्ने हो भने देशमा नयाँ आशा जागृत हुने र दलहरू प्रति थप भरोसा पैदा हुने गैरेले बताउनुभयो ।
अहिले संविधान संशोधनलाई प्रतिगमन देख्ने, संविधनालाई समृद्ध बनाउने कुरालाई प्रतिगमन देख्ने बहस पनि अहिले सुनिएको गैरेले बताउनुभयो । ‘यथास्थितिमा रमाउने कुरा पो प्रतिगमन होला कि’, उहाँले भन्नुभयो ।
संविधानमा देखा परेको समस्यालाई संशोधन मार्फत अघि बढाउने तर्फ प्रतिनिधि सभा केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । अहिलेको सरकारले यही कुराको अपेक्षा राखेको गैरेले बताउनुभयो ।
