काठमाडौं । प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले वर्तमान सरकारले प्रतिगमनको बाटो लिएको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बस्नेतले विद्युत् प्राधिकरणको सवाल होस् वा सरकाको स्वरूप सबै हेर्दा सरकार प्रतिगमनको बाटोमा अघि बढेको बताउनुभयो । ‘सरकार दलका क्रिया प्रतिक्रियालाई हेर्दा सरकार लोकतन्त्र र सुशासनको बाटोमा होइन प्रतिगमनकै बाटोमा हिँड्न खोजिरहेको प्रतीत हुन्छ’, उहाँले भन्नुभयो ।
बस्नेतले लोकतन्त्रलाई स्थापित गर्न विगतमा जेल नेल खाएको कुराले अर्थ नराख्ने बताउनुभयो । यसको लागि वर्तमानको इमान महत्पूर्ण हुने उहाँको धारणा छ ।
विद्युत् प्राधिकरणको महसुल असुल सम्बन्धमा जनमत बलियो बन्दै गएपछि त्यसको विरुद्ध अनेक प्रचारबाजी गरिएको उहाँले बताउनुभयो । विद्युत् महसुल उठाउनुको साटो उद्योगीबाट महसुल नउठाएर प्राधिकरणलाई समाप्त गर्न खोजिएको बस्नेतले आरोप लगाउनुभयो ।
