काठमाडौं । आज संघीय सांसदका चारवटा संसदीय समितिका बैठक बस्दै छन् ।
संघीय संसद् सचिवालयका अनुसार मंगलबार कानुन, न्याय तथा मानवअधिकार, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार, विधायन व्यवस्थापन र राज्य व्यवस्था तथा सुशासन समितिका बैठक बस्न लागेका हुन् ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ । बैठकमा विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल प्रारम्भ गरिने छ । यस्तै, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुने कार्यसूची रहेको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा उपभोक्ता तथा अत्यावश्यक वस्तु र सेवाको आपूर्ति एवं वितरण, मूल्य नियन्त्रण, गुणस्तर, बजार अनुगमन तथा उपभोक्ता हक संरक्षण तथा प्रवर्द्धन लगायतका सम्बन्धमा मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्य योजना सम्बन्धमा छलफल हुनेछ ।
विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ः३० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो दुई बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
