काठमाडौं । प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले अनावश्यक लफडा सुरु गरेका छन् ।
संसदीय मूल्य, मान्यता विरुद्धका विषयमा प्रवेश गरी रास्वपाका सांसदहरू लफडामा उत्रिएका हुन् । एउटा विषयमा बोल्छु भनि समय लिने तर अर्कै विषयमा बोल्न लागेपछि सभामुखले रोक्नु भएको थियो ।
बाढी पहिरोको विषयमा बोल्न समय लिनुभएका रास्वपाका सांसद् हरि ढकाल विषयान्तर गरी विद्युत् महसुलको विषयमा बोल्न लागेपछि सभामुखले रोक्दै सो विषयमा पछि छलफल हुने र आकस्मिक समयमा राख्नु पर्ने विषय मात्र राख्न आग्रह गर्नुभएको थियो । त्यस पछि रास्वपाका सांसदहरूले उठेर होहल्ला गर्न सुरु गरेका थिए ।
होहल्लाका बिचमा सभामुखले सो पार्टीको संसदीय दलका नेता रवि लामिछानेलाई बोल्न समय दिनुभएकोमा लामिछानेले ढकालको माइक काटिएकोले उहाँलाई नै बोल्नु दिनु पर्ने बताउनुभएको थियो ।
रास्वपाको लफडामा साथ दिँदै राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता राजेन्द्र लिङदेनले पनि प्रतिनिधि सभा बैठकमा सांसदहरूले तोकेको विषय मात्रै नबोल्ने भन्दै उहाँहरूलाई बोल्न दिनु पर्ने बताउनुभएको थियो ।
सभामुखले सचेतकहरू बिचको बैठकमा भएको सहमति, प्रतिनिधि सभा सञ्चालन नियमावली हेर्न पटक पटक आग्रह गर्दा पनि रास्वपाका सांसदहरूले लफडा गरेर सभा अघि बढ्नबाट रोकेका थिए । उनीहरुकाे लफडाकाे कारण १५ मिनेट बढी बैठक अवरुद्ध भएकाे थियाे ।
