काठमाडौं । प्रतिनिधि सभा सदस्य असिम साहले २०४७ साल यताका सबै काण्डको फाइल खोल्न आग्रह गर्नुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै साहले जनताबाट सबै राजनीतिक दलले विश्वासको मत गुमाइसकेकाले त्यो विश्वास जगाउनको लागि ती फाइल खोल्नु पर्ने बताउनुभयो । अहिले नागरिकमा अविश्वास र निराशा बढ्दै गएको साहले टिप्पणी गर्नुभयो । ‘१२ सक्ने बित्तिकै जोकोही बाहिरिन चाहन्छन्, युवा पलायनको महामारी नै चलिरहेको छ’, उहाँले भन्नुभयो ।
यसरी बिदेसिएका युवा नेपाल जोड्ने कडी आफ्नो बाबु–आमा मात्रै भएका साहाले बताउनुभयो । उनीहरूको मृत्यु पछि त्यो पनि बन्द हुने उहाँको धारणा छ । विदेशबाट युवाहरूले देश फर्कने वातावरण बनाउन आफ्नो पार्टीका अध्यक्ष रवि लामिछानेलाई आग्रह गरिरहेका साहले सुनाउनुभयो । तर प्रधानमन्त्रीको कुर्सीमा बस्ने तीन जना नेतालाई हेरेर आफूलाई लाज लाग्ने गरेको साहले सुनाउनुभयो । ‘म रवि दाइलाई हेर्छु, अनि म्युजिकल चेयरमा पालैपालो बस्ने हाम्रा तीनजना नेतालाई हेर्छु, आफैँ लज्जित हुन्छु’, साहले भन्नुभयो ।
अबको केही वर्ष भित्रै देशमा युवा दक्ष कर्मचारीको हाहाकार हुने उहाँले बताउनुभयो । प्रहरी र सेनामा भर्ती युवाको सङ्ख्या समेत पुर्याउन नसकिने स्थिति आउने उहाँको भनाइ छ ।
देशमा प्रधानमन्त्री बनेका ‘बा’को जिम्मामा देशका नागरिक रहेका बताउँदै साहले बा सही बाटोमा हिँडे मात्र देशका छोराछोरीलाई अनुशासनमा देश भित्रै राख्न सकिने बताउनुभयो । ‘देशको नेतृत्वमा रहेका ‘बा’हरुले नै गलत कामलाई बडा वा दिने हो भने छोराछोरी के देखेर देशमा बस्ने ? नाति पुस्ताले के सिक्ने ?’, उहाँले भन्नुभयो ।
पलायन हुने युवा नभई युवा बेच्ने नेतृत्वको पलायन आवश्यक रहेको साहले बताउनुभयो । बङ्गलादेशको घटनाले युवामा आक्रोश र जोसको आगो बलेको उहाँले सुनाउनुभयो । ‘यस्तो हुँदा समेत कसैले नचेत्ने हो भने भाग्ने दिन छिट्टै आउन सक्छ, होसियार हुनुहोस्’, साहले भन्नुभयो ।
