काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले प्रतिनिधि सभामा प्रस्तुत भएको टीआरसी विधेयक पीडित केन्द्रित भएको बताउनुभएको छ ।
बुधबार टीआरसी विधेयक माथिको छलफलमा बोल्दै बर्तौलाले विधेयकले सबैका भावना र सुझावलाई समेटेको बताउनुभयो । सङ्क्रमणकालीन न्यायसँग जोडिएको कानुन भएकोले टीआरसी विधेयक अन्य कानुन जस्तो सामान्य नहुने उहाँले प्रष्ट पार्नुभयो । ‘यो कानुन शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनेसँग जोडिएको कानुन हो, सङ्क्रमणकालीन न्याय सम्पादनसँग जोडिएको कानुन हो’, बर्तौलाले भन्नुभयो ।
गम्भीर प्रक्रियाका मानव अधिकार उलङ्घनका घटनाहरू हत्या, बलात्कार, यातना र बेपत्तामा पीडितले चाहेर पनि मेलमिलाप नहुने उहाँले बताउनुभयो । ती घटनामा टीआरसी ऐन अन्तर्गत बन्ने विशेष अदालतले निरूपण गर्ने विषय भएको उहाँले स्पष्ट पार्नुभयो ।
अन्य मेलमिलापका घटनामा पनि पीडितले स्वतन्त्र सहमति जनाउने उहाँले स्पष्ट पार्नुभयो । स्वतन्त्र सहमति नभएको अवस्थामा पीडितलाई न्याय खोज्ने बाटो कानुनले खुल्ला गरेको बर्तौलाले स्पष्ट पार्नुभयो । ‘यसरी हेर्दा यो पीडितलाई असाध्य केन्द्रमा राखिएको छ’, बर्तौलाले भन्नुभयो ।
