काठमाडौं । प्रतिनिधि सभा सदस्य रवि लामिछानेले शान्ति प्रक्रियाको काम लामो समयसम्म अल्झिएको बताउनुभएको छ ।
बुधबार टीआरसी विधेयक माथिको छलफलमा बोल्दै नेपालको शान्ति प्रक्रियामा केही मौलिक अभ्यास गरिएको भए पनि त्यसलाई अल्झाएर राखिएको भन्दै लामिछानेले आलोचना गर्नुभयो । ‘राजनीतिक दाउपेचकै कारण शान्ति प्रक्रियाका महत्पूर्ण काम सङ्क्रमणकालीन न्याय निरूपणलाई वर्षौँसम्म अल्झाइयो, कसले म त्यता तिर जान चाहन्न तर अल्झियो’, उहाँले भन्नुभयो ।
तत्कालीन विद्रोही माओवादीले सरकारमा नेतृत्व गर्दा समेत त्यस तर्फ परिणाम दिने गरी काम म हुन नसकेको उहाँले बताउनुभयो । ढिलै गरी भए पनि राजनीतिक अकर्मण्यताबाट माथि उठेर सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने काम अघि बढेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।
न्याय निरूपणको संरचनामा बस्ने मानिसहरू निष्पक्ष र स्वतन्त्र हुनुपर्ने उहाँले बताउनुभयो । आयोगहरूमा योग्य, निष्पक्ष र स्वतन्त्र मानिस हुनु पर्ने कुरामा जोड दिनुपर्ने उहाँको धारणा छ । पीडितलाई न्याय पाउँछु, पीडकलाई उन्मुक्ति पाइँदैन भन्ने कुराको ग्यारेन्टी हुनु पर्ने लामिछानेले बताउनुभयो । राजनीतिक इमान्दारिताकाे साथ शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनु पर्ने उहाँको धारणा छ ।
