काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङदेनले द्वन्द्वका मारमा द्वन्द्वमा प्रत्यक्ष सहभागी हुने भन्दा पनि त्यसमा कुनै सरोकार नै नराख्नेहरू पर्ने गरेको बताउनुभएको छ ।
बुधबार टीआरसी विधेयक माथिको छलफलमा बोल्दै लिङदेन नेपालको सशस्त्र द्वन्द्वमा पनि विद्रोही पक्ष र सरकार पक्ष मात्र छैन, जो द्वन्द्वमा प्रत्यक्ष रूपले सामेल थिएन ऊ सबैभन्दा बेसी पीडित भएको छ, आज हामीले यहाँ छलफल गर्दा उनीहरूको पक्षमा कसैले आवाज उठाएका छैनौँ’, लिङदेनले भन्नुभयो ।
आफू सशस्त्र द्वन्द्वमा सहभागी नहुँदा पनि आक्रमणमा परेको उहाँले बताउनुभयो । यस्तो आक्रमणमा धेरै नेपाली परेका कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । ‘अब त्यस्तो दिन कहिल्यै नआओस्, अब यस्तो स्थिति देशले कहिल्यै नबेहोरोस् भन्ने प्रतिबद्धता हुनुपर्छ’ लिङदेनले भन्नुभयो ।
उहाँले हिंसा र भ्रष्टाचार गम्भीर अपराध भएकोले त्यस्ता अपराधमा संलग्न मानिसहरू जहिले पनि दण्डित हुन्छन् भन्ने कुरा स्थापित गर्नुपर्ने उहाँले बताउनुभयो । शान्ति प्रक्रिया अन्तिम निष्कर्षमा पुग्नु पर्ने र सबैले न्याय पाउनु पर्नेमा लिङदेनले जोड दिनुभयो ।
उहाँले शान्ति प्रक्रियामा तत्कालीन राजाको पनि योगदान भएको नबिर्सन आग्रह गर्नुभयो । कसैलाई निषेध नगरी शान्ति प्रक्रियालाई अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
