काठमाडौं । प्रतिनिधि सभा सदस्य माधवकुमार नेपाल माओवादीसँग शान्ति प्रक्रियामा हस्ताक्षर गरेपछि सारा देश खुसी भएको स्मरण गराउनुभएकाे छ ।
बुधबार टीआरसी विधेयक माथिको छलफलमा बोल्दै नेपालले नेपालको शान्ति प्रक्रिया आफ्नो होम प्रोडक्ट भएको बताउनुभयो । त्यो विश्वलाई देखाउने विषय बनेको नेपालले स्पष्ट पार्नुभयो ।
नेपालबाट अन्मिन फिर्ता गराउँदा आफूलाई धम्की आएको उहाँले सुनाउनुभयो । नेपालमा बसेर खेल्न विभिन्न शक्तिले चाहेका भए पनि आफूले उनीहरूलाई बिदा गरेको नेपालले बताउनुभयो । ‘त्यो चुनौतीको सामना गरेर हामीले इतिहास रचेका छौँ, त्यसमा गौरव लाग्छ मलाई’, उहाँले भन्नुभयो ।
शान्ति प्रक्रियालाई समयमा नै टुङ्ग्याउन नसकेकोमा आफूलाई दुःख लागेको नेपालले बताउनुभयो । प्रचण्डले आँट गरेर देशलाई शान्ति प्रक्रियामा ल्याएको उहाँले टिप्पणी गर्नुभयो । ‘आँट गर्दा धेरै छलाङ मार्नु हुन्छ, त्यसले बिगार्छ, त्यो पनि ख्याल गर्नुहोला, कसैले मिठो कुरा गर्दिन्छ, त्यसमा फक्की हाल्नुहुन्छ, सँगै जान्छौँ स्वर्ग भन्नुहुन्छ, त्यस पछि पुग्नुहुन्छ नर्क’, उहाँले भन्नुभयो ।
उहाँले संविधान संशोधन गरेर देशमा दुई दलीय व्यवस्था स्थापना गर्न खोजेका भन्दै त्यो हुन नदिने बताउनुभयो । कुरा लोकतन्त्रको तर व्यवहार अधिनायकवादको नेपाली जनताले नस्विकार्ने नेपालले सुनाउनुभयो ।
नेपालले तीनजना नेताको चोचो मोचो मिलाएर मात्र समस्या समाधान नगर्न चेतावनी दिनुभयो । अरूको ज्ञान र अनुभवको पनि काम लाग्ने कुरा नबिर्सन नेपालले आग्रह गर्नुभयो ।
