काठमाडौं । राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीले कांग्रेस र एमाले मिलेर देशमा अन्य दलको अस्तित्व समाप्त गर्न लागेको बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभा बैठकमा बोल्दै सुवेदीले कांग्रेस–एमाले मिलेर देशमा दुई दलीय व्यवस्था ल्याउन लागेको बताउनुभयो ‘अब १० पर्सेन्ट थ्रेस होल्ड राख्ने र अब कांग्रेस र एमाले बाहेक अरू पार्टी सिद्ध्याइदिने’, उहाँले भन्नुभयो ।
कांग्रेस लोकतान्त्रिक पार्टी हो भने सयौँ पार्टीलाई स्थान दिनुपर्ने बताउँदै उहाँले कांग्रेस दुई दलीय व्यवस्था तिर जान लागेको भन्दै आलोचना गर्नुभयो । कांग्रेस अहिले नामको मात्र लोकतन्त्रवादी भएको उहाँको आरोप छ ।
सुवेदीले जनताले अस्वीकार गरेपछि जति धेरै बहुमत भए पनि शासकहरू टिक्न नसकेको बताउनुभयो । श्रीलंका र बङ्गलादेशको घटनाबाट पाठ सिक्न उहाँले कांग्रेस–एमालेलाई आग्रह गर्नुभयो ।
सरकार अस्थिर भयो भनेर दुई ठुला पार्टी मिलेको भन्ने कुरा मिल्दै नमिल्ने उहाँले दाबी गर्नुभयो । संसदमा जसले बहुमत जुटाउन सक्यो त्यसैले सरकार बनाउने कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो ।
सुवेदीले परम्परागत संसदीय प्रणालीले अब देश अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले अब कार्यकारी राष्ट्र प्रमुख हुने प्रत्यक्ष निर्वाचन प्रणालीमा जानु पर्ने उहाँको राय छ ।
समाजको बनोट जस्तो छ संसद्को बनोट पनि त्यस्तै हुनु पर्ने उहाँले बताउनुभयो । ‘समानुपातिक हटाउने होइन, पूर्ण समानुपातिक प्रणालीमा जाऊँ’, उहाँले भन्नुभयो ।
