काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउने १० वर्षमा नेपालमा २८ हजार मेगावाट विद्युत् उत्पादन हुने दाबी गर्नुभएको छ ।
बिहीबार प्रतिनिधि समा बैठकमा डा. नारायणप्रकाश साउदले सोध्नु भएको प्रश्नको जवाफ दिँदै ओलीले आगामी १० वर्षभित्र नेपालले १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने गरी भएको दीर्घकालीन विद्युत् व्यापार सम्झौता बमोजिम भारतमा विद्युत् निर्यातको लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ऊर्जा विकास मार्ग चित्र तथा कार्ययोजना तयार गरेको बताउनुभयो ।
उक्त मार्गचित्र तथा कार्ययोजनामा आर्थिक वर्ष २०९१/०९२ सम्म करिब १३ हजार ५सय मेगावाट विद्युत् आन्तरिक माग पूर्तिको लागि र करिब १५ हजार मेगावाट विद्युत् छिमेकी मुलुक भारत र बङ्गलादेशमा निर्यातको लागि गरी नेपालको कूल विद्युत् उत्पादन क्षमता २८ हजार मेगावाट पुर्याउने लक्ष्य लिइएको ओलीले बताउनुभयो । उक्त मार्गचित्र तथा कार्ययोजना नेपाल सरकार मन्त्रिपरिषदमा पेश भएको उहाँले जानकारी दिनुभयो ।
हाल नेपालको कूल विद्युत् उत्पादन क्षमता करिब ३ हजार २ सय ४० मेगावाट पुगेको र आर्थिक वर्ष २०९०/०९१ सम्ममा करिब २६ हजार मेगावाट विद्युत् थप उत्पादन हुने प्रक्षेपण सहितको कार्ययोजना तयार भएको उहाँले बताउनुभयो । सो कार्ययोजनामा विद्युत् खरिद सम्झौता सम्पन्न भएका आयोजनाहरूबाट ५ हजार ८ सय ७३ मेगावाट, विद्युत् खरिदको प्रक्रियामा रहेका आयोजनाहरूबाट ३ हजार २ सय ५ मेगावाट, कनेक्सन एग्रिमेन्ट सम्पन्न आयोजनाहरूबाट ३ हजार १ सय ८ मेगावाट, कनेक्सन एग्रिमेन्टको प्रक्रियामा रहेका आयोजनाहरूबाट ५ हजार ६ सय ४८ मेगावाट तथा नेपाल सरकार एवं सरकारी स्वामित्वका कम्पनीहरूबाट अध्ययन सम्पन्न भएका ठूला प्रकृतिका तथा विद्युतीय सम्झौताको प्रक्रियामा हालसम्म सहभागी नभएका आयोजनाहरूबाट ४ हजार ४ सय ३१ मेगावाट र भारतीय कम्पनीहरूबाट प्रवर्द्धन भइरहेका आयोजनाहरूबाट ३ हजार ६ सय ७९ मेगावाट विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो ।
आगामी १० वर्षमा भारतसँग १० हजार मेगावाट विद्युत् व्यापारका लागि आवश्यक उच्च भोल्टेज स्तरका विभिन्न अन्तर्देशीय विद्युत् प्रसारण लाइनहरू विकासको क्रममा रहेका उहाँले बताउनुभयो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी क्षमताको पहिलो नेपाल–भारत अन्तर्देशीय विद्युत् प्रसारण लाइन सन् २०१६ देखि सञ्चालनमा रहेको, अरुण–३ जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी सतलज जलविद्युत निगम लिमिटेडबाट निर्माण भइरहेको २ हजार ५ सय मेगावाट विद्युत् प्रसारण क्षमताको ढल्केबर–सितामढी ४ सय केभी अन्तर्देशीय विद्युत् प्रसारण लाइन यसै वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो । साथै, २ हजार ५०० मेगावाट विद्युत् प्रसारण क्षमताको बुटवल–गोरखपुर ४ सय केभी अन्तर्देशीय विद्युत् प्रसारण लाइन सन् २०२५ सम्म सम्पन्न हुने गरी निर्माण भइरहेको पनि उहाँले जानकारी दिनुभयो । त्यसै गरी २५ सय मेगावाट विद्युत् प्रसारण क्षमताका थप दुई वटा ४ सय केभी अन्तर्देशीय विद्युत् प्रसारण लाइन इनरुवा–पूर्णिया र लम्की–बरेली कार्यान्वयनका चरणमा रहेको उहाँले बताउनुभयो । यी अन्तर्देशीय विद्युत् प्रसारण लाइन सन् २०२९ सम्ममा निर्माण सम्पन्न गर्ने गरी नेपाल र भारतबिच सहमति भएको उहाँले बताउनुभयो ।
नेपाल र भारत अन्तर्देशीय विद्युत् प्रसारण लाइनबाट १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्न नेपालको आन्तरिक विद्युत् प्रसारण प्रणाली पनि सबल र सक्षम हुनुपर्ने हुनुपर्ने उहाँले बताउनुभयो । यसको लागि हेटौडा–ढल्केबर–इनरुवा ४ सय केपी विद्युत् प्रसारण लाइन अन्तर्गत ढल्केबर–इनरुवा खण्डको निर्माण सम्पन्न भई सञ्चालनमा आएको, हेटौँडा–ढल्केबर खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको, लप्सीफेदी–रातामाटे–न्यु हेटौँडा र रातामाटे–न्यु दमौली–न्यु बुटवल ४ सय केपी विद्युत् प्रसारण लाइनको निर्माण कार्य छिट्टै सुरु गरिने ओलीले बताउनुभयो । यी प्रसारण लाइनहरूको सवस्टेशन निर्माणको लागि ठेक्का सम्झौता भइसकेको पनि उहाँले जानकारी दिनुभयो ।
