काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा प्रतिनिधि सभाका सुरेश अधिकारीले प्रतिनिधि सभामा उत्पत्ति भएको 'बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश जानकारी गराउनुहुने कार्यसूची छ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या, वन तथा वातावरण र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय सम्बन्धी प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१' माथि विचार गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा शाेक प्रस्ताव पारित गर्ने कार्यसूची पनि छ ।
