काठमाडाैं । सांसद् शान्ति विकले महिलाहरु संसारमा कहिँपनि सुरक्षित नभएका बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् विकले भन्नुभयाे - 'विगत केही समयदेखि स्वदेश तथा विदेशमा घटेका महिला हिंसाका घटनाले महिलाहरु संसारमा कहिँपनि सुरक्षित छैनन् भन्ने देखियाे ।' काभ्रेकी ममता काफ्लेकाे अमेरिकामा हत्या भएकाे विषयले आफू निक्कै दुखी भएकाे उहाँले बताउनुभयाे । त्यहाँकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा ममताकाे हत्या भएकाे आशंका गरेकाे भन्दै सांसद् विकले साे घटनाले आफू स्तब्ध भएकाे बताउनुभयाे ।
पुस १६ गते रातिदेखि घरबाट बेपत्ता भएकी बेनीकी १९ वर्षीया मिना परियार शव जंगलमा खाडेकाे अवस्थामा प्रहरीले भेटाएकाे उहाँले बताउनुभयाे । पाेखराकाे अस्पतालमा पाेस्टमार्टम गर्दा गर्भमा बच्चा रहेकाे र उनकाे धारिलाे हतियार प्रहार गरी हत्या भएकाे पुष्टि भएकाे सांसद् विकले बताउनुभयाे ।
उहाँले सिन्धुपाल्चाेककाे सुनकाेशीकी १५ वर्षीया बालिकामाथि आफ्नै शिक्षकले बलात्कार गरेकाे बताउनुभयाे । बाघभैरव स्कुलमा पढाउने ती शिक्षकले बालिकामाथि पटक-पटक बलात्कार गरेकाे, फेसबुकमार्फत चरित्र हत्या गरेकाे र आत्महत्याकाे मुखमा पुर्याएकाे भन्दै सांसद् विकले ती शिक्षकलाई कारबाही गरेर बालिकालाई न्याय दिनुपर्ने बताउनुभयाे ।
