काठमाडाैं । सांसद् रणकुमारी बलमपाकी मगरले नेपालकाे शिक्षा प्रणाली सुधार गर्न गम्भीर बन्नुपर्ने बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् मगरले भन्नुभयाे - 'नेपालकाे शिक्षा प्रणालीलाई सुधार गर्न हामी सबै गम्भीर बनाैं, राज्यबाट पर्याप्त लगानीकाे वातावरण बनाऔं ।'
शिक्षा विकासकाे मेरुदण्ड भएकाे भन्दै सांसद् मगरले शिक्षाकाे सुधार र विकासबिनाकाे अन्य विकास असम्भव भएकाे बताउनुभयाे । उहाँले हालै प्रकाशित कक्षा १२ र एसईईकाे नतिजाले नेपालकाे शिक्षा कस्ताे छ भन्ने छर्लंग भएकाे बताउनुभयाे ।
हाल ५६ हजार शिक्षक दरबन्दी रिक्त रहेकाे भन्दै सांसद् मगरले कक्षा ९ र १० मा पढाउने शिक्षकले कक्षा १२ सम्म पढाउने गरेकाे पाइएकाे बताउनुभयाे ।
कति विद्यालयमा केन्द्रीय, प्रदेश र गाउँपालिका अनुदान तथा निजी स्राेतकाे माध्यमबाट थरिथरिका शिक्षक राख्दा याेग्य भन्दा पनि भन्सुनकाे भरमा अयाेग्यहरुकाे पटक भएकाे र शैक्षिक स्तर खस्किँदै गएकाे उहाँले बताउनुभयाे ।
कतिपय शिक्षकले राष्ट्रिय गान र ७ प्रदेशकाे नाम लगायत नजान्दा मिडियामा ट्राेल भइरहेका समेत सांसद् मगरले बताउनुभयाे । शिक्षक सेवा आयाेगमार्फत रिक्त दरबन्दीहरुमा दक्ष जनशक्ति नियुक्त गर्न उहाँले सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
