काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा सांसद् पुष्पकमल दाहाल प्रचण्डले अहिलेकाे सरकार असंवैधानिक सरकार भएकाे आराेप लगाउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष प्रचण्डले याे सरकार राजनीतिक बलमिँच्याइ र संविधानकाे अपहेलनाबाट बनेकाे असंवैधानिक सरकार भएकाे आराेप लगाउनुभयाे ।
अहिलेकाे सरकारकाे जगमा विश्वास नभएर डर रहेकाे आराेप उहाँले लगाउनुभयाे । 'सरकारकाे जगमा विश्वास हाेइन डर छ, याे सरकार जहाँ जतिखेर र जसरी बन्याे गर्भैदेखि जनताकाे बीचमा एक्सपाेज थियाे र अझ एक्सपाेज भइरहेकाे छ, जनतालाई थाहा छ याे किन र कसरी बनेकाे थियाे, कसकाे सरकार हाे, प्रमाणित गर्ने काम सरकार आफैंले गरिरहेकाे महशुस मैले गरेकाे छ'- अध्यक्ष प्रचण्डले भन्नुभयाे ।
याे सरकारसँग त्याे इमान र नैतिक धरातल नभएकाे आराेप पनि उहाँले लगाउनुभयाे । 'जनता र प्रतिपक्षकाे सामना गर्न इमान चाहिन्छ र याे सरकारसँग त्याे इमान र नैतिक धरातल छैन, सरकारकाे जगमा कानुन र संविधान पनि छैन भनेर म आराेपित गर्न चाहान्छु'- अध्यक्ष प्रचण्डले भन्नुभयाे ।
संख्यामा कम भएपनि आफूहरु बलियाे प्रतिपक्ष रहेकाे दाबी उहाँले गर्नुभयाे । 'हाम्राे संख्याकाे चिन्ता तपाइँ नगर्नुस्, सत्यले शक्ति देखाउन संख्या चाहिँदैन'- अध्यक्ष प्रचण्डले भन्नुभयाे ।
सरकार नक्कली भुटानी शरणार्थी काण्ड सामसुम पार्ने र अरू अपराधीलाई पनि बचाउने खतरनाक खेलमा लागेको गम्भीर आराेप पनि उहाँले लगाउनुभयाे ।
सरकारले गर्न नपर्ने सबै गर्ने तर गर्न पर्ने केही नगर्ने काम गरिरहेकाे आराेप पनि अध्यक्ष प्रचण्डले लगाउनुभयाे । यो सरकार सुशासनसँग तर्सिएर, सुशासनको वेगलाई रोक्न, आफूहरू र आफ्नाहरू जोगाउन र जोगिन बनेको गम्भीर आराेप पनि उहाँले आराेप लगाउनुभयाे ।
सफा र समस्या नभएकाे ठाउँमा प्रधानमन्त्रीलाई चासाे रहेकाे तर बेथिती रहेका संस्थानतिर चासाे नरहेकाे आराेप पनि अध्यक्ष प्रचण्डले लगाउनुभयाे ।
सरकारलाई विद्युत प्राधिकरणकाे चिन्ता भएकाे आराेप अध्यक्ष प्रचण्डले लगाउनुभयाे । 'यो सम्मानित संसद्मा मेरो पछिल्लो सम्बोधनमा यही रोस्टममा उभिएर मैले चुनौतीका साथ भनेको थिएँ, सरकारको पछाडि बिचौलिया र माफिया छ र त्यही माफियाकै सेवामा यो सरकारको सबै प्रतिष्ठा समाप्त हुनेछ, त्यति भन्दाभन्दै पनि मलाई लागेको थियो, सरकारले केही दिन त संकाेच मान्नेछ, केही दिन त लाज मान्नेछ, तर सरकार यति हतारमा देखियो कि बिरालोले म्याउँ गर्न एक हप्ता पनि लागेन, लोडसेडिङकाे बेलाको डेडिकेटेड र ट्रंकलाइनको बिलको विवादमा प्रधानमन्त्री रोस्टममा उभिनुभयो, तर जसका पक्षमा जसरी उभिनुभयो, त्यो देखेर सिंगाे देश स्तब्ध भयो' - उहाँले भन्नुभयाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंकलाइनबारे फेस गर्न नसकेर फेसबुकतिर लागेकाे आराेप समेत प्रचण्डले लगाउनुभयाे । २२ अर्बकाे प्रस्ताव मन्त्रिपरिषद्मा लगेर पास गर्न प्रधानमन्त्रीलाई उहाँले चुनाैती दिनुभयाे । याे प्रस्ताव नआए प्रधानमन्त्रीकाे नियत देशले बुझ्ने समेत अध्यक्ष प्रचण्डले बताउनुभयाे ।
प्राधिकरणलाई आफ्नाे काम गर्न नदिएर याे समस्या निम्त्याउने काम प्रधानमन्त्री ओलीले गरेकाे आराेप पनि प्रचण्डले लगाउनुभयाे ।
