काठमाडाैं । नेकपा एमालेका सांसद् रघुजी पन्तले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा प्रधानमन्त्री पद गुमेपछि छटपटी देखिएको बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् पन्तले प्रधानमन्त्री पद गुमेपछि यति औडाहा र छटपटी किन भन्दै प्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'प्रधानमन्त्री पद गएपछि यति औडाहा र छटपटी किन यति छिट्टै देखाउनुपरेकाे ?'
जता सत्ता उतै प्रचण्ड भनेर स्थापित गर्ने मानिसले सत्ता चाहिदैन भनेर भन्नु उचित नभएकाे उहाँले बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे -'चाहिदैन सत्ता भन्नुहुन्छ, हिजाे ३ चाेटि घरि यता घरि उता जता सत्ता त्यतै प्रचण्ड भनेर याे संसदभित्र स्थापित गर्ने मान्छे तपाइँ स्वयम् हाेइन, तपाइँकाे कारणले मुलुकमा अस्थिरता उत्पन्न भएकाे थियाे, तपाइँकै कारणले राजनीतिज्ञले आफ्नाे विश्वसनियता गुमाएका थिए, जनताले नक्कली र नक्कलेले लुगा फेरेको भन्दा छिटो प्रचण्डले गठबन्धन फेर्छन् भनेका थिए, त्यसैले फर्केर हेर्नुस् ।'
अब प्रचण्डलाई सत्ता लिनुस् भनेर काेही नआउने समेत उहाँले बताउनुभयाे ।
सरकार गठन भएकाे कम्तिमा सय दिन नपुगी प्रमुख प्रतिपक्षी दलकाे नेताले सरकारकाे आलाेचना गर्न नमिल्ने संसदीय नजिर रहेकाे स्मरण गर्दै उहाँले त्याे नजिर प्रचण्डले ताेडेकाे बताउनुभयाे । सांसद् पन्तले भन्नुभयाे - 'संसदीय प्रणाली भएका मुलुकमा सामान्यतया प्रमुख प्रतिपक्षकाे नेताले संसद्मा उभिएर सय दिन नपुगिकन सरकारकाे हत्तपत्त आलाेचना गर्दैन, याे प्रणालीकाे स्थापित मान्यता हाे, संसदीय प्रणाली, लाेकतान्त्रिक प्रणाली र संविधानलाई स्वीकार्ने हाे भने याे नेपालकाे संसदभित्र पनि चलिआएकाे प्रथा हाे, याे संविधानमा र नियमावलीमा लेखिराख्ने कुरा हाेइन, तर अभ्यासले स्थापित गरेकाे नजिर हाे, आज दु:खका साथ भन्नुपर्छ उहाँले याे नजिर ताेड्नुभएकाे छ ।'
सांसद् पन्तले प्रचण्डलाई संविधान पढ्न सुझाव दिनुभयाे । उहाँले भन्नुभयाे - 'सबै तपाइँहरुलाई चाहिएकाे छ भने यो प्रतिपक्षी दलको नेता पनि तपाइँहरू नै राख्नुस् भन्नुभयो, संविधान त पढ्नुस् नेताज्यू, प्रमुख प्रतिपक्षकाे पद तपाइँले दिएर, खाेजेर पाउने पद हाेइन, त्याे संवैधानिक पद हाे, दुई ठूला दल मिलेर सरकार बनाएपछि तेस्राे ठूलाे दल प्रमुख प्रतिपक्षमा स्वत: भएकाे हाे, प्रमुख प्रतिपक्षी दलको नेता बन्न मन लाग्दैन भने छेवैमा हुनुहुन्छ जनार्दनजी बस्नुभाछ दिनुन उहाँलाई, त्याे हामीले लिने पद पनि हाेइन ।' कम्तिमा प्रमुख प्रतिपक्षी नेताको गरिमा जोगाउन समेत सांसद् पन्तले प्रचण्डलाई सुझाव दिनुभयाे ।
उहाँले कुरा बुझेर बाेल्न र प्रधानमन्त्री ओलीकाे आलाेचना गर्नुअघि आफूले विगतमा गरेका व्यवहार स्मरण गर्न पनि प्रचण्डलाई सुझाव दिनुभयाे ।
लेखा समितिकाे सभापति प्रमुख प्रतिपक्षलाई दिनुपर्ने नजिर विगतमा सत्तामा पुगेकाहरुले ताेडेका बताउँदै सांसद् पन्तले भन्नुभयाे - 'उहाँहरुले नताेड्नुभएकाे भए एमालेले पनि छाेड्ने थियाे, लेखाकाे सभापति लिँदा एमाले प्रतिपक्षमा थियाे ।'
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा भएकाे भारत भ्रमणका क्रममा ईपीजीकाे प्रतिवेदनबारे कुरा ननिकालेकाे स्मरण गर्दै सांसद् पन्तले अहिलेका प्रधानमन्त्री ओलीले हिजाे मात्रै ईपीजीकाे प्रतिवेदन बुझ्न भारतीय पक्षलाई आग्रह गरेकाे सुनाउनुभयाे । 'उहाँले सम्बन्ध बिग्रिन्छ भनेर कुरै निकाल्नुभएन, सम्माननीय प्रधानमन्त्री ओलीले हिजाे भारतलाई प्रतिवेदन बुझ्न भन्नुभयाे, याे हाे नि राष्ट्रियतामा अडान कुरा ठूला गरेर मात्र हुँदैन'- उहाँले भन्नुभयाे ।
