काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले सत्तामा बस्दा सिन्को नभाँच्ने तर सत्ताबाहिर गएपछि भ्रष्टाचारको विरोधमा उफ्रिने प्रवृत्ति गलत भएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष केसीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै सत्तामा छँदा परिवारवादमा लागेकाे र सत्ता गुम्मेबित्तिक्कै पानीबिनाकाे माछाेझैं उफ्रिन काम उचित नभएकाे बताउनुभयाे । 'सत्तामा छँदाखेरी आँखा चिम्लेर परिवारवाद, भ्रष्टाचारीहरुलाई जोगाउने, तिनबाट फाईदा लिने, सत्ता बाहिर हुँदा पानीबाट बाहिर निकालेको माछा जस्तो बुरुक्क बुरुक्क उफ्रने ? सत्ताबाहिर गरेको कुरा कसले पत्याउने ?' - उहाँले भन्नुभयाे ।
सत्तामा बस्दाखेरी सिन्काे भाँच्न नपर्ने, जनतालाई सुशासन दिन नपर्ने, राष्ट्रियताकाे संरक्षण गर्न नपर्ने सत्ताबाट बाहिर गएर टुक्रिने चलन गलत भएकाे अध्यक्ष केसीले बताउनुभयाे । प्रचण्डका चर्का कुरा सुन्दा आफूलाई अचम्म लागेकाे बताउँदै उहाँले भन्नुभयाे - 'चर्का कुरा सुनियो पूर्व प्रधानमन्त्रीका, ओलीविरुद्ध उफ्रिनुभयो, त्यस्तो मान्छे जान्दाजान्दै आफ्नाे दुनाे साेझाउन २ चोटी बालकोट किन पुग्नुभयो ? मलाई अचम्म लागेको छ ।'
संसदीय व्यवस्थामा रहेकाे सीमा र मर्यादा नमिच्न समेत उहाँले ठूला दललाई आग्रह गर्नुभयाे । सत्तामा रहँदा भ्रष्टाचारीलाई जोगाउने र सत्ताबाट बाहिरिएपछि त्यसको विरोध गर्ने परिपाटी ठूला दलमा रहेकाले मुलुकमा भ्रष्टाचार बढ्दै गएको अध्यक्ष केसीले बताउनुभयाे । भ्रष्टाचारमा ५ वर्षे हदम्याद मान्य नहुने भन्दै उहाँले यसबारे सरकारले प्रष्ट पार्नुभयाे । संसद्भित्रका ठूला पार्टीबाटै लाेकतन्त्र र गणतन्त्रलाई खतरा रहेकाे कुरा आफूले यसअघि भनिसकेकाे भन्दै उहाँले संसद्मा चलेकाे आराेप पत्याराेपकाे दाेहाेरीले बंगलादेशकाे अवस्था सृजना गर्छ कि भन्ने चिन्ता लागेकाे बताउनुभयाे । दलहरुबीचकाे लडाइँ र आराेपबाट निरंकुश व्यवस्था आउन नदिन दलहरु सचेत हुनुपर्ने अध्यक्ष केसीले बताउनुभयाे । अध्यक्ष केसीले भन्नुभयाे - 'दलहरु नसच्चिने हाे भने बंगलादेशकाे बाढी नेपालमा पस्न बेर छैन ।'
सार्वजनिक लेखा समितिको सभापति पाउनुपर्छ भन्ने माओवादी केन्द्रको माग जायज रहेको पनि उहाँले बताउनुभयाे । प्रमुख प्रतिपक्ष दल भएकाले माओवादीले लेखाकाे सभापति पाउनुपर्ने भन्दै अध्यक्ष केसीले आफ्नो पार्टीले प्रतिपक्ष दलको हैसियतमा रहँदा सो पद पाएको स्मरण पनि उहाँले गर्नुभयाे । 'संसदीय व्यवस्था भएका मुलुकमा त्यसका केही मूल्य मान्यता छन्, अहिले प्रतिपक्षका साथीहरुले लेखा समितिको सभापति आफ्नो हुनपर्छ भनेर उहाँहरुले जो माग गर्नुभएको छ, त्यो जायज छ, कांग्रेस सत्तामा हुँदाखेरी राष्ट्रिय जनमोर्चालाई लेखा समितिको सभापति दिएको थियो, त्यो नियम त पालना गर्नुपर्याे नि'- उहाँले भन्नुभयाे ।
