काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले युवाहरुलाई त्रसित नबनाउन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद् ढकालले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध आवाज उठाएका युवाहरूलाई पक्राउ गरिएकोमा विरोध जनाउनुभयाे ।
कार्यक्रममा युवाहरूकाे विरोधलाई अराजकता वा अनेक बहाना लगाएर भिडियो फुटेज हेरेर युवाहरूलाई हिरासतमा राख्न थालेको भन्दै उहाँले त्याे गलत भएकाे बताउनुभयाे ।
युवाले राखेको विरोधकाे बाेली राज्यले सुन्न सक्नुपर्ने धैर्यता राख्नुपर्ने सांसद् ढकालले बताउनुभयाे । उहाँले पक्राउ परेका युवाहरूको रिहाइको माग गर्नुभयाे । राेजगारी र अवसरबाट बञ्चित गरिएका युवाहरुले सिंहदरबारभित्रका बेइमानहरूलाई खबरदारी गर्दा समाउन नपाइने पनि सांसद् ढकालले बताउनुभयाे ।
विभिन्न जिल्लामा स्ट्याटस लेखेको भरमा समाउन थालेको कुरा आएकाे बताउँदै उहाँले भन्नुभयाे - 'कमिलाको उड्ने बेलामा प्वाँख पलाए जस्तो नहोस् ।'
