काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको विरोध गरेकै आरोपमा पक्राउ गरिएका युवालाई तत्काल छाड्न माग गर्नुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै ढकालले सो कार्यक्रममा युवाले विरोध भाषण मात्र गरेका बताउनुभयो । ती युवाले अराजकता प्रस्तुत गरेको नभई विरोध जनाएको उहाँको तर्क छ ।
उहाँले त्यहाँ विरोध गर्ने युवालाई भिडियो फुटेजको आधारमा पक्राउ गर्नु गलत भएको बताउनुभयो । राज्यले विरोधको भाषा सुन्ने धर्यता राख्नुपर्ने उहाँको धारणा छ । ‘विरोधका बोलीहरू त्यो पनि युवाले राखेका छन्, राज्यले सुन्न सक्ने धैर्यता राख्न सक्नुपर्छ’, उहाँले भन्नुभयो ।
उहाँले युवालाई स्टाटस लेखेकै भरमा समेत सरकारले पक्राउ गर्न लागेको प्रति पनि आपत्ति जनाउनु भयो । ‘हामी पनि यो विषयमा संवेदनशील छौँ, तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तो हुन्छ’, उहाँले भन्नुभयो ।
