काठमाडौं । प्रतिनिधि सभा सदस्य योगश भट्टराईले नेपाल विद्युत् प्राधिकरणको सबै बक्यौता महसुल उठाउनु पर्ने बताउनुभएको छ ।
बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै भट्टराईले विभिन्न उद्योगसँग लिन बाँकी २१ अर्ब ८८ करोड बक्यौता रकमका कुनै छुट नदिई उठाउनु पर्ने बताउनुभयो । ‘त्यो पैसा, एक एक पैसा, पाई पाई पैसा, एक पैसा पनि छुट नदिई उठाउनु पर्छ भन्ने हाम्रो धारणा छ’, भट्टराईले भन्नुभयो ।
विद्युत् महसुलको सम्बन्धमा सार्वजनिक लेखा समितिलाई मिनेन्द्र रिजालको उपसमितिले दिएको प्रतिवेदनलाई कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकाले विद्युत् प्राधिकरणको १६ अर्ब रुपैँया छुट दिने निर्णय कसरी गर्यो भन्ने कुराको संसदमा स्पष्टीकरण दिनु पर्ने बताउनुभयो । प्रचण्डको सो कार्यमा मिलेमतो रहेको भट्टराईले दाबी गर्नुभयो । ‘उहाँले अख्तियारको दुरुपयोग गर्नुभयो’, भट्टराईले भन्नुभयो ।
विद्युत् प्राधिकरणले विभिन्न बहानामा उद्योगीहरूलाई बिल नपठाएर अनियमितता गरेको उहाँले बताउनुभयो । सो घटनामा संलग्न सबै माथि छानबिन हुनु पर्ने उहाँको माग छ ।
कुनै व्यक्ति विशेष एमडी हुँदा वा नहुँदा संस्थान नाफा वा घाटामा नजाने उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणको अमुक व्यक्ति एमडी हुँदा नाफा भएको बताउनेहरूलाई नेपाल टेलिकम, आलय निगम लगायतका संस्थामा को को एमडी छन् भन्ने कुरा बुझ्न भट्टराईले आग्रह गर्नुभयो ।
भट्टराईले यो देशमा माओवादी द्वन्द्व नभएको भए २०७५ सालमा होइन २०६५ सालामा देश लोडसेडिङ मुक्त भइसक्ने उहाँले दाबी गर्नुभयो ।
