काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले गाैरा पर्वकाे अवसरमा काठमाडाैंकाे टुँडिखेलमा युवाहरूले अराजकता देखाएको बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् घिमिरेले साे कार्यक्रममा युवाहरुले गरेकाे गतिविधि उछृंखल र अराजक भएकाे बताउनुभयाे ।
घिमिरे बाेल्नुअघि आकस्मिक समयमा बाेल्नुभएका रास्वपाका सांसद् हरि ढकालले युवाहरुकाे विराेधकाे पक्षमा कुरा राख्नुभएकाे थियाे ।
त्यसकाे जवाफमा घिमिरेले उछृंखल र अराजकतालाई पश्रय दिने कुरा सदनमा उठाएर समाजलाई कता लैजाँदैछाैं भन्ने प्रतिप्रश्न गर्नुभयाे । उहाँले भन्नुभयाे - 'गौरा पर्व विशुद्ध सांस्कृतिक कार्यक्रम हो, संस्कृतिको परिचय पनि हो, त्यो कार्यक्रममा जुन गतिविधि भयो त्यो उछृंखल र अराजकता व्यवहार नै थियो, त्यो व्यवहार चाहे युवाले गरुन्, चाहे प्रौढले गरुन् त्यो अराजकता नै हो, त्यसको पक्षमा हामीले सदनमा कुरा उठाउन थाल्यौँ भने हामीले समाजलाई कता लैजाँदै छौं भन्ने ध्यानाकर्षण गराउँछु ।'
