काठमाडाैं । नेकपा एमालेका सचिव तथा सांसद याेगेश भट्टराईमाथि माओवादीका सांसद्हरु खनिएका छन् ।
बुधबार सांसद् भट्टराईले १० वर्षे सशस्त्र जनयुद्धलाई हिंसा भनेर अभिव्यक्ति दिएकाे विषयमा माओवादीका सांसद्हरु बिहीबार उहाँमाथि खनिएका हुन् ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बाेल्दै माओवादी सांसद् उर्मिला माझीले जनयुद्धलाई हिंसा भनेकोमा आपत्ति जनाउनुभयाे ।जनयुद्ध र आन्दाेलनलाई जुनसुकै शब्दले लाञ्छना लगाएपनि माओवादीकाे एजेण्डा बाहिर देश नरहेकाे दाबी उहाँले गर्नुभयाे । जनयुद्ध हिंसा नभएर राज्यबाट उत्पीडनमा पारेका सबै जाति, वर्ग, क्षेत्र र लिंगकाे संगठित विद्राेह रहेकाे दाबी गर्दै सांसद् माझीले इतिहासमा पनि रहने बताउनुभयाे ।
छिरिङ डुम्डुल लामा भाेटेले योगेश भट्टराईले जनयुद्धको समयमा चन्दा असुली र हतियार तस्करी गरेको गम्भीर आराेप लगाउनुभयाे । 'जनयुद्धको नाममा चन्दा असुलेर, हतियार तस्कर गर्ने, आफैं हिंसाको गतिविधि गर्ने नाइकेले महान जनयुद्धलाई हिंसा भन्नु गैरजिम्मेवारी हो'- उहाँले भन्नुभयाे ।
माओवादीकै अर्की सांसद् छिरिङल्हामु लामा तामाङले माओवादीलाई अपमान गर्ने मनसायले भट्टराईले अभिव्यक्ति दिएकाे आराेप लगाउनुभयाे । शान्ति पक्रिया टुंगाे लाग्ने क्रममा रहेका बेला आएकाे भट्टराईकाे अभिव्यक्तिले देशलाई अर्काे द्वन्द्वकाे चपेटामा लैजाने लागेकाे हाे कि भन्ने आशंका पैदा भएकाे उहाँले बताउनुभयाे । जनयुद्ध कालमा हतियार खरिद-बिक्रीमा र ओसार-पसारमा संलग्न भएको आरोप लागेका भट्टराईमाथि छानबिन हुनुपर्ने समेत सांसद् लामाले बताउनुभयाे । 'उहाँको विषयमा सधैं कन्टोभर्सी बाहिर आइरहन्छन्, उहाँ मन्त्री हुँदा बतासकाण्ड होस् वा एक जना माननीयले केही समय पहिले सञ्चारमाध्यममा जनयुद्ध कालमा हतियार खरिद-बिक्रीमा र ओसार-पसारमा संलग्न भएको आरोप लगाउनु भएको छ, यसबारे उचित छानबिनका लागि संसदको ध्यानाकर्षण गराउछ'- सांसद तामाङले भन्नुभयाे ।
शून्य समयमा बाेल्दै माओवादीकै सांसद् राजन दाहालले योगेशलाई 'बैगुनी केटो' भन्दै महान जनयुद्धको बलमा प्राप्त उपलब्धिहरू उपभोग गर्ने अनि महान जनयुद्धलाई हिंसा भन्ने ? भन्दै प्रश्न गर्नुभयाे । उहाँले याेगेशलाई नम्बरी ठग भएकाे आराेप पनि लगाउनुभयाे ।
शून्य समयमा बाेल्दै माओवादीकै अर्का सांसद् गंगा कार्कीले जनयुद्धमा माओवादीलाई हतियारकाे व्यापार गर्नेहरुकाे सडकबाट महलमा पुगेकाे आराेप लगाउनुभयाे । उहाँले जनयुद्धलाई हिंसा भनेकाे २४ घण्टा नबित्दै आकाशतिर थुकेकाे थुक भट्टराईकाे अनुहारमा खसेकाे आराेप पनि याेगेशमाथि लगाउनुभयाे । सांसद् कार्कीले याेगेशलाई नक्कली माओवादीकाे संज्ञा समेत दिनुभयाे ।
बैठककाे विशेष समयमा बाेल्दै माओवादीकै अर्का सांसद् देवेन्द्र पाैडेलले पनि जनयुद्धलाई हिंसा भनेकाेमा आपत्ति जनाउनुभयाे । जनताको छोराछोरीले लडेको युद्ध जनयुद्ध भएको दाबी उहाँले गर्नुभयाे । जनयुद्ध जस्तै अरु आन्दाेलनलाई पनि आफ्नाे सम्मान रहेकाे सांसद् पाैडेलले बताउनुभयाे । 'हजार वर्षसम्म पनि नेपालमा र संसारभर विज्ञले इतिहास लेख्यो भने जनताले चलाएको आन्दोलनलाई जनयुद्ध भनेर लेख्ने छ‚ यहाँहरूले यो शब्द किन कन्जुस्याइँ गरेको ? इतिहास त हामीलाई पनि जानकारी छ'- उहाँले भन्नुभयाे ।
