काठमाडौं । नेकपा एमालेका सांसद् किरणकुमार साहले नेपाललाई हिन्दू राष्ट्र घाेषणा गर्नुपर्ने बताउनुभएकाे छ ।
बिहीबार बसेकाे प्रतिनिधि सभा बैठककाे शून्य समयमा बाेल्दै सांसद् साहले संविधानले उन्नति र पहिचान नदिएकाले संशोधन गरी हिन्दू राष्ट्र बनाउनुपर्ने माग गर्नुभयाे ।
संविधानसभामार्फत लेखिएकाे संविधान देशकै उत्कृष्ट भनिएपनि त्याे पर्याप्त नभएकाले संशाेधन गर्नुपर्ने उहाँले बताउनुभयाे । 'हाम्रो संविधान संविधानसभामार्फत आफैं लेख्यौँ, सबै नेताले यसलाई विश्वको उत्कृष्ट संविधान भने, तर यो संविधानले आज न त उन्नति नै दिइराखेको छ, न त पहिचान नै, त्यसैले संविधान संशोधन गरी नेपाललाई सनातन हिन्दु राष्ट्रको पहिचान दिऔं'- सांसद् साहले भन्नुभयाे ।
हिन्दूराष्ट्र भएका बेला नेपाल संयुक्त राष्ट्रकाे सुरक्षा परिषद्मा २ पटक निर्वाचित भएकाे उहाँले स्मरण गर्नुभयाे । देशलाई धर्मनिरपेक्ष राष्ट्र बनाएपछि विश्व स्वास्थ्य संगठनमा उम्मेदवारी दिँदा पनि हारेकाे अवस्था रहेकाे सांसद् साहले बताउनुभयाे ।
गास, बास र उन्नतिका लागि भन्दै देशकाे पहिचान समाप्त पारेपनि त्याे नपाएकाे अवस्था रहेकाे भन्दै उहाँले युवाहरु पेट पाल्न विदेशिन वाध्य भकाे अवस्था रहेकाे बताउनुभयाे । गाउँ सटर बन्द भएका, वृद्धाआश्रम भएका सांसद् साहले बताउनुभयाे ।
