काठमाडौं । नेकपा एमालेका सांसद् ईश्वर रिजालले शाेककाे राजनीति माैलाएकाे बताउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् रिजालले वाध्यता भन्दा पनि शाेककाे राजनीति माैलाएकाे बताउनुभयाे ।
हिजाे पञ्चायत कालमा पुष्पलाल र वीपीहरुले गरेकाे राजनीति वाध्यताकाे राजनीति भएकाे उहाँले बताउनुभयाे । 'तर अहिले वाध्यताकाे राजनीति भन्दा पनि शाेककाे राजनीति माैलाउँदै गएकाे छ, शाेककाे राजनीति माैलाएपछि दल खाेल्दिने, एक दुई जना सांसद् हुने, संसद्मा हङ पार्लामेन्ट हुने, अस्थिरता खडा हुने, अस्थिरताका कारण जनतामा वेचैन खडा हुने भएकाे छ'- सांसद् रिजालले भन्नुभयाे ।
सानाे र ठूलाे दलकाे कुरा गरिने गरिएकाे भन्दै उहाँले लाेकतन्त्रमा निरपेक्ष साना र ठूला दल नहुने बताउनुभयाे । संविधान संशाेधनकाे कुरालाई लिएर साना दललाई निषेध गर्न खाेजिएकाे भन्ने चर्चा चलिरहेकाे सांसद् रिजालले बताउनुभयाे । नेपालमा अहिले उद्यममुखी, माैसममुखी र गुजारामुखी काठजस्ताे, बाँसजस्ताे र रबरजस्ताे राजनीतिक प्रवृत्ति देखिएकाे उहाँले बताउनुभयाे ।
जनताकाे पक्षमा गर्ने राजनीति उद्यममुखी राजनीति भएकाे भन्दै सांसद् रिजालले जनताकाे पक्षमा काम गरे निरपेक्ष कुनै पार्टी सानाे र ठूलाे नहुने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामी सबैले गर्ने राजनीति उद्यममुखी राजनीति हाे, हामीले जनताकाे पक्षमा काम गर्याैं भने निरपेक्ष कुनै पार्टी ठूलाे र कुनै सानाे भन्ने हुँदैन, त्याे हाम्राे भूमिकाले तय गर्ने हाे, सधैंभरि बढ्दैन भने रहर किन गर्ने ? एउटा सिट हुन्छ, त्यही व्यक्ति दाेहाेरिन्छ भने त्याे शाेककाे राजनीति हुन्छ, वाध्यताकाे राजनीति हुँदैन, राजनीति भनेकाे वाध्यताकाे राजनीति हाे ।'
अस्थिरता र अराजकता माैलाउँदै गए प्रतिगमन आउने खतरा हुने समेत सांसद् रिजालले बताउनुभयाे ।
सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र र सूर्यको जस्तो हुनुपर्ने भन्दै उहाँलेसत्तापक्षले उज्यालो किरण पुर्याउन नसकेको ठाउँमा चन्द्रमाको रूपमा प्रतिपक्षले भूमिका खेल्नुपर्ने बताउनुभयाे । सांसद् रिजालले भन्नुभयाे - 'सत्तापक्ष र प्रतिपक्षको भूमिका चन्द्र र सूर्यकाे जस्ताे हुनुपर्छ, संसारमा रात कहिल्यै पर्दैन, सूर्यको प्रकाश छेलिन्छ अनि रात पर्ने हो, सूर्यको प्रकाश छेलिएको बेलामा जब अँध्यारो हुन्छ त्यहाँ चन्द्रमाले प्रकाश दिन्छ,यदि सत्तापक्षले भूमिका खेल्न नसकेको ठाउँमा अर्थात उज्यालो किरण पुर्याउन नसकेको ठाउँमा चन्द्रमाको रूपमा प्रतिपक्षले भूमिका खेल्नुपर्छ, ओझेल परेको ठाउँमा प्रकाशको किरण परोस् ।'
तर अहिले प्रतिपक्षकाे भूमिका तथा चन्द्रमाका रुपमा नभएर ग्रहणकाे भूमिका निर्वाह गर्न खाेजिएकाे उहाँले बताउनुभयाे । प्रतिपक्षले भ्रम फैलाउन नहुने सांसद् रिजालले बताउनुभयाे । सही बाटाेमा र सही रिङमा हिँडेकाे सरकारलाई गलत बाटाेमा गयाे भने प्रतिपक्षले खबरदारी गर्नुपर्ने भएपनि अहिले त्यसाे हुन नसकेकाे उहाँले बताउनुभयाे ।
हलाे अड्काउने भूमिका प्रतिपक्षले खेल्न नहुने सांसद् रिजालले बताउनुभयाे । 'प्रतिपक्षकाे राेल भनेकाे त सत्तापक्ष रिङआउट हुन खाेज्याे भने रिङभित्र ल्याउने, लिगआउट हुन खाेज्याे भने लिगमा हिँडाउने हाे, तर यहाँ लिगमा हिँडिराखेकाे सरकार छ भने लिगआउट गर्ने, रिङभित्रै सरकार चल्दैछ भने रिङआउट गर्ने त्याे मात्र हाेइन सिनआउट गर्ने भूमिका प्रतिपक्षबाट भएकाे छ'- उहाँले भन्नुभयाे ।
प्रतिपक्षमा बस्नेले भाेलि सत्तापक्षमा पुगिन्छ भन्ने हेक्का राख्नुपर्ने उहाँले बताउनुभयाे ।
