काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद् सोबिता गौतमले काठमाडौं शंखरापुरकी गमला गेलाललाई क्षतिपूर्ति र न्याय दिन सरकारकाे ध्यानाकर्षण गराउनुभएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् गाैतमले प्रसूतिको शल्यक्रियाका क्रममा प्रयोग गरिएका दुई औषधिका कारण मृगाैला फेल भएकी शंखरापुरकी गेलाललाई क्षतिपूर्ति र न्याय दिन सरकारसँग माग गर्नुभयाे ।
०७६ साल फागुनमा जोरपाटीको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएमसी) शिक्षण अस्पतालले प्रसूतिकाे शल्यक्रियाका क्रममा प्रयोग गरेको औषधिका कारण गेलालको मृगाैलामा संक्रमण भई फेल भएको र प्रत्यारोपण गर्नुपरेकाे उहाँले बताउनुभयाे । प्रसूतिकाे तयारी गरिरहँदा इन्जेक्सनमार्फत औषधि दिएकाे केही समयमै गमलालाई सहनै नसक्नेगरी पाेलेकाे र गमलालाई जस्तै समस्या त्यहाँ भर्ना भएका अन्य २ जना सुत्केरीलाई पनि देखिएकाे सांसद् गाैतमले बताउनुभयाे । गमलासहित ३ मध्ये १ महिलाकाे मृत्यु भएकाे, गमलाकाे मृगाैला फेल भएकाे र अर्की एक महिलाकाे मृगाैला सामान्य अवस्थामा फर्किएकाे उहाँले बताउनुभयाे ।
औषधिमा विषाक्त चिज देखियाे भनेर त्यतिबेला छानबिनका क्रममा आएकाे सांसद् गाैतमले स्मरण गराउनुभयाे । यस्ताे गम्भीर विषय सामसुम पार्ने खेल भएकाे र सही रिपाेर्ट लुकाइएकाे उहाँले बताउनुभयाे । कुनैपनि संस्थामा गमलाकाे विषय उठान नभएकाे र अनुसन्धान नभएकाे भन्दै सांसद् गाैतमले प्रश्न गर्नुभयाे - 'किन अनुसन्धान भएन ? न्याय दिने जिम्मा कसकाे ? जिम्मेवार संस्थामा बसेकाहरुले गरिबकाे मुद्दा भुसुना बराबर हाे ? धनी र पहुँचवालाका निम्ति मात्र न्याय छ याे देशमा ?'
गमलाकाे श्रीमान परिवार पाल्न खाडी गएकाे, गमलालाई औषधि खान समस्या भएकाे र छाेरा पढाउन नसकेकाे अवस्था रहेकाे उहाँले बताउनुभयाे । अस्पतालकाे लापरबाहीबारे न्याय माग्दै सबै ठाउँ पुग्दा पनि गमलालाले अहिलेसम्म क्षतिपूर्ति र न्याय नपाएकाे उहाँले बताउनुभयाे ।
