काठमाडाैं । चेक अनादर (चेक बाउन्स) मुद्दामा दोषी ठहर भए १ महिनादेखि २ वर्षसम्म कैद सजाय हुने व्यवस्था राख्न संसदीय समितिमा सहमति भएको छ ।
आइतबार बसेकाे प्रतिनिधि सभाको अर्थ समितिकाे बैठकमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि परेका संशोधन प्रस्ताव र दफावार छलफलपछि चेक अनादर सम्बन्धी मुद्दामा ३ महिनादेखि २ वर्षसम्मको कैद सजाय हुने व्यवस्था विधेयकमा राख्ने सहमति भएकाे हाे ।
बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा ५ प्रतिशत जरिवानासहित १ महिनादेखि अधिकतम २ वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषय सर्वसम्मतिले पास समिति सभापति सन्तोष चालिसेले जानकारी दिनुभयाे । चे
क बाउन्सका मुद्दामा १५ लाखसम्मको बिगो भए १ महिना कैद, १५ लाखदेखि ५० लाखसम्मको बिगो भए १ महिनादेखि ३ महिनासम्म कैद, ५० लाखदेखि १ करोडसम्म बिगो भए ३ महिनादेखि १ वर्षसम्म कैद १ करोड माथिको बिगो भए २ वर्षसम्म कैदको सजाय गर्ने व्यवस्था विधेयकमा राखिएको उहाँले बताउनुभयाे ।
सजाय गर्ने र आर्थिक जरिवाना तिराउने भन्दा पनि पैसा उठाउने विषयलाई विधेयकमा बढी प्राथमिकता दिइएको सभापति चालिसेले बताउनुभयाे । कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने लगायत व्यवस्था विधेयकमा राखिएको छ ।
