काठमाडाैं । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले प्रतिवेदनमा समेटिने विषयबारे सराेकारवालाहरुसँग छलफल गरेकाे छ ।
समितिले आइतबार सिंहदरबारमा उपपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीलगायतसँग छलफल गरेकाे हाे । उहाँहरुसँग प्रतिवेदनमा समेट्ने विषय वस्तुकेन्द्रित परामर्श र छलफल गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयाे ।
छलफलमा बाेल्दै अर्थमन्त्री पौडेलले सहकारीबाट लिएकाे ऋण तिर्नुपर्दैन भन्ने भ्रम नपाल्न आग्रह गर्नुभयाे । उहाँले सहकारी क्षेत्रको प्रभावकारी नियमनका लागि संयन्त्र गठन गर्नुपर्ने बताउनुभयाे । समितिले दिएकाे प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता पनि अर्थमन्त्री पाैडेलले जनाउनुभयाे ।
छलफलमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेश प्रसाद घिमिरे, अर्थ मन्त्रालयका सहसचिव दीर्घ मैनाली, राष्ट्र बैंकका निर्देशक मुक्तिनाथ सापकोटा, राष्ट्र बैंकका उपनिर्देशक डा.रमेश चौलागाईं लगायतकाे सहभागिता थियाे ।
