काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बर्तौलाले सशस्त्र द्वन्द्वको बेलामा फालेका बम विष्फोटन हुँदा भएको क्षतिको जिम्मा त्यस्ता विष्फोटक बस्तु फाल्नेले लिनुपर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि समा बैठकमा विशेष समय लिएर बोल्दै बर्तौलाले त्यस्ता घटनाको स्वतन्त्र छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । ‘यस घटनामा जोडिएको दोषी को हो, यस सदनमा सरकारले आएर बताउनुपर्छ’, बर्तौलाले भन्नुभयो ।
सशस्त्र द्वन्द्वको बेलामा विभिन्न ठाउँमा बम बिच्छ्याइएका, छोडिएका तथा फालिए र अहिले तिनै बम विष्फोटन भएर मानवीय क्षति भएका भन्दै बर्तौलाले त्यसको जिम्मा त्यसबेला बम फाल्ने पक्षले लिनु पर्ने बताउनुभयो । ‘यस्ता घटनाप्रति जबाफदेही को हुने हो, कसले जिम्मा लिनुपर्ने हो ? सामान्यतया राज्य पक्षबाट यस प्रकारका बेवारिसे बम छाडेर हिँडेको हामी देख्दैनौँ, सुन्दैनौँ, त्यति बेलाको द्वन्द्वको एउटा पक्षबाट द्वन्द्वको बेलमा यस प्रकारका विभिन्न बम छाडिएको हो भने सम्बन्धित पक्षले यसको जिम्मा लिनु पर्छ’, उहाँले भन्नुभयो ।
उहाँले भदौ १३ गते पाँचथरमा बेवारिसे अवस्थामा छाडेको बम खेलाउँदा दुई बालबालिकाको निधन भएको र दुई जन घाइते भएका प्रति उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले ज्यान गुमाएका प्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।
