काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् सुमना श्रेष्ठले विश्वविद्यालय दलहरूका पार्टी प्यालेसजस्तो भएको बताउनुभएकाे छ ।
सोमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै सांसद् श्रेष्ठले विश्वविद्यालयहरु विश्वविद्यालय भन्दा दलहरूका पार्टी प्यालेसजस्तो भएको बताउनुभयाे ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा ११ दिन बित्दा पनि नभएको भन्दै उहाँले परीक्षा नहुँदा कृषि, भेटेनरी र वन संकायमा स्नातक तहका १४ सय विद्यार्थी प्रभावित भएका बताउनुभयाे ।
दलका भातृसंगठनको अवरोधका कारण परीक्षा रोकिन आपत्तिजनक रहेको सांसद् श्रेष्ठले बताउनुभयाे । 'यान्त्रिकरणमा लाने भनेर भन्ने तर यही विश्वविद्यालयमा पठनपाठन ठप्प जाँच ठप्प, ४ वर्षमा सक्ने ब्याचलर कति वर्षमा सकिने हाे, विश्वविद्यालय पठनपाठनको क्षेत्र कम र पार्टीहरूको पार्टी प्यालेस बढी हुन थालेको छ, एउटा प्रधानमन्त्रीको, अर्को गृहमन्त्रीको पार्टी, दुई पार्टीका विद्यार्थी संगठनकाे लडाइँमा पढ्छु भन्ने विद्यार्थीले जाँच पनि दिन नपाउने ?'
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह रोकिएकोमा पनि सांसद् श्रेष्ठले आपत्ति जनाउनुभयाे । कर्णालीकाे दीक्षान्त समाराेहमा नगएकाे विषयमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीकाे कार्यक्षमतामाथि प्रश्न उठेकाे आराेप पनि उहाँले लगाउनुभयाे । 'अन्तिम समयमा आएर कार्यव्यस्तता देखाउने, कार्यव्यस्तता मिलाउन नसक्ने कस्तो हो ? कुलपतिको कार्यक्षमतामाथि पटक-टक प्रश्न उठ्न थाल्यो'- सांसद् श्रेष्ठले भन्नुभयाे ।
कुनै पनि बहानामा विद्यार्थीको जीवनमाथि खेलबाड नगर्न समेत उहाँले सरकारकाे गम्भीर ध्यानाकर्षण गराउनुभयाे । 'राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्,ओली शासनलाई इतिहासले कसरी हेर्छ, ओली शासनमा जाँच कहिले हुन्छ ? कर्णालीकाे दिक्षान्त समाराेह कहिले हुन्छ ?'- सांसद् श्रेष्ठकाे प्रश्न छ ।
