काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह राेकिएकाे विषयमा कडा आपत्ति जनाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक शाहीले समाराेहकाे सबै तयारी पूरा भएपछि प्रधानमन्त्री ओलीले अन्तिममा आउन सकिन भनेर खबर पठाएकाे भन्दै आपत्ति जनाउनुभयाे ।
समाराेहकाे तयारीका क्रममा गरिएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्ने समेत उहाँले बताउनुभयाे । देशकाे प्रधानमन्त्री जति झुट बाेल्ने मानिस सायद नेपालमा काेही नभएकाे आराेप पनि शाहीले लगाउनुभयाे । '५६ जना विद्यार्थी झापा र कञ्चनपुरदेखि जुम्ला गए, डा. सन्दुक रुइत जानुभयाे, हामीहरु गयाैं, स्वास्थ्य सचिव जानुभयाे, लास्ट आवरमा आएर प्रधानमन्त्रीले म आउँदिनँ, दीक्षान्त सार भनेर भन्नुभयो, हुकुमी शासन हो ? त्यहाँ गरेको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गरिनुपर्छ'- उहाँले भन्नुभयाे ।
प्रधानमन्त्रीले बिरामी वा माैसम खराब भएर आउँदिन भनेकाे भए आफूहरुलाई स्वीकार्य हुने भन्दै प्रमुख सचेतक शाहीले त्यस्तो अवस्था नरहेको भन्दै विराेध जनाउनुभयाे । 'भ्यु टावर भए दौडेर जानहुन्थ्यो होला, विश्वविद्यालय भयो, त्यहीभएर जानुभएन'- उहाँले भन्नुभयाे ।
कृषि तथा वनविज्ञान विश्वविद्यालयको परीक्षा ११ दिन बित्दा पनि नभएको भन्दै प्रमुख सचेतक शाहीले आपत्ति जनाउनुभयाे । कृषि, भेटेनरी र वन संकायमा स्नातक तहकाे परीक्षा राेकिएकाे भन्दै उहाँले आपत्ति जनाउनुभयाे । आफ्ना भातृ संगठनलाई तह लगाउन समेत कांग्रेस र एमालेलाई शाहीले दिनुभयाे ।
कर्णाली राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट ल्याइएकाे स्याउ बाटाेमै कुहिएकाे र किसान चिन्तित रहेकाे अवस्था रहेकाे उहाँले बताउनुभयाे । त्यसमाथि प्रहरीले १७ ठाउँमा चेकजाँच गरेर किसानलाई हैरान पारेकाे भन्दै प्रमुख सचेतक शाहीले गृहमन्त्रीलाई प्रश्न गर्नुभयाे ।
