काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् गणेश पराजुलीले सरकारले तानाशाही प्रवृत्ति देखाएकाे आराेप लगाउनुभएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे विशेष समयमा बाेल्दै सांसद् पराजुलीले जिन्दावाद र मुर्दावादकाे नारा लगाएकै भरमा सरकारले कति नेपाली युवालाई जेलमा थुन्ने विचार गरेको छ ? भन्ने प्रश्न गर्नुभयाे ।
उहाँले गौरा पर्वको दिन टुँडिखेलबाट पक्राउ परेका युवाको भिडियो सेयर गरेपछि अर्का युवा मानबहादुरलाई तानाशाही प्रवृत्ति देखाउँदै पक्राउ गरेर जेलमा राखेकाे भन्दै आपत्ति जनाउनुभयाे । 'जिन्दावाद र मुर्दावादकाे नारा लगाएकै भरमा पक्राउ गर्ने हाे भने कति नेपाली युवालाई जेलमा थुन्ने विचार गरेकाे छ याे सरकारले ?'- सांसद् पराजुलीकाे प्रश्न छ । उहाँले राजनीतिक आडमा यस्ता कार्य बन्द गर्न र मानबहादुरलाई निशर्त रिहा गर्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
सहकारी ठगी काण्डकाे छानबिनका लागि संसदीय छानबिन समिति बनाउनुपर्छ भन्ने नेपाली कांग्रेसका सांसद् धनराज गुरुङमाथि सहकारी ठगीकाे आराेप लागेकाे भन्दै सांसद् पराजुलीले उहामाथि छानबिन हुनुपर्ने बताउनुभयाे । मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १५ करोड रुपैयाँ रकम हिनामिनामा धनराज गुरुङ र उहाँको श्रीमतीको नाम जोडिएको कुरा मिडियामार्फत सार्वजनिक भएको उहाँले बताउनुभयाे । गुरुङ दम्पतीमाथि सहकारीको ठगी अनुसन्धान गर्न भन्दै मितेरी सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सीआईबीमा उजुरी परेको विषय मिडियामा आएको भन्दै पराजुलीले छानबिन हुन्छ कि हुँदैन भनेर प्रश्न गर्नुभयाे । सहकारी ठगी लुकाउन धनराजले सम्बधविच्छेद गर्नुभएकाे कुरा बाहिर आएकाे भन्दै उहाँले कांग्रेस सांसद्लाई प्रश्न गर्नुभयाे - 'गुरुङकाे बारेमा छानबिन हुन्छ कि हुँदैन ? उहाँले सहकारी ठगी लुकाउन सम्बधविच्छेद गर्नुभएको कुरा आएको छ, सहकारी छानबिनको माग गर्दै कांग्रेसका सांसद्ले रोस्ट्रम वेल घेराउ गर्नुहुन्छ कि हुन्न ? कि दोहोरो मापदण्ड अपनाउने हो ? जवाफ चाहियाे ।'
एपिवान टिभीमा पनि जिवी राईकाे लगानी गरेका कुरा बाहिरिएकाे भन्दै सांसद् पराजुलीले त्याे लगानी सहकारीबाट लगिएकाे थियाे-थिएन भनेर छानबिन गर्ने कि नगर्ने भन्ने प्रश्न गर्नुभयाे । उहाँले सरकार बनाउन मद्दत गर्ने साे टिभीका मालिकलाई छानबिन गर्ने हिम्मत सरकारले राख्छ कि राख्दैन भन्ने प्रश्न पनि गर्नुभयाे ।
हेर्ने कथापछि चर्चामा आएका प्रकाश तामाङ जस्तै कैयाैं युवा युवती नागरिकताबिहीन बनिरहेका भन्दै सांसद् पराजुलीले उनीहरुकाे बारेमा पनि साेच्न सरकारलाई सुझाव दिनुभयाे ।
