काठमाडौं । नेपाल विश्वविद्यालय विधेयक, २०८१ प्रतिनिधि सभाबाट पारित भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभा बैठकबाट साे विधेयक बुहमतले पारित भएको हो । बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गर्नुभएकाे नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियाेस् भन्ने प्रस्तावलाई निर्णयार्थ पेस गर्दै सभामुख देवराज घिमिरेले बहुमतले पारित भएकाे घाेषणा गर्नुभयाे ।
त्यसअघि विधेयकमाथि छलफल भएकाे थियाे । मन्त्री भट्टराईले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । छलफलमा सांसद्हरु रघुजी पन्त, सुमना श्रेष्ठ, देवेन्द्र पौडेल, रोशन कार्की, प्रेम सुवाल, मनिष झा र चन्द्रकान्त भण्डारीले भाग लिनुभएको थियो । विधेयकमाथिको छलफलमा उठेका प्रश्नका जवाफ मन्त्री भट्टराईले जवाफ दिनुभएकाे थियाे ।
साे विधेयक ०७९ माघ २० मा दर्ता भएर ०७९ माघ ५ गते राष्ट्रिय सभामा प्रस्तुत भएको थियो । राष्ट्रिय सभाबाट छलफल भएर ०८० असार १८ गते पारित भएको थियो ।
