काठमाडौं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
प्रतिनिधि सभाको बैठक दिउँसाे १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसाे सवा १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने संघीय संसद् सचिवालयले जनाएकाे छ ।
प्रतिनिधि सभाको आजकाे बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।
बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुहुनेछ ।
बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८ माथि छलफल गरियाेस् भन्ने प्रस्ताव गर्नुहुने कार्यसूची छ । मन्त्री गुरुङले नै सार्वजनिक सेवा प्रशारण विधेयक, २०८१ पारित गरियाेस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेकाे पनि संसद् सचिवालयले जनाएका छ ।
राष्ट्रिय सभाको आजकाे बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९-८० सभासमक्ष पेस गर्नुहुने कार्यसूची छ ।
आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन, ०८०-८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले विषयगत समितिका रिक्त सभापति पदको निर्वाचनको दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
