काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाकाे विषयमा आएका समाचारप्रति आपत्ति जनाएकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख रानालाई महाभियाेग लगाएर पदबाट हटाउनेबारे मिडियाहरुमा समाचार आएको भन्दै आपत्ति जनाउनुभयाे ।
उपसभामुखलाई महाअभियोग लगाउने कुरा लाेकतन्त्रका लागि मान्य नहुने भन्दै उहाँले लोकतन्त्रमाथि धावा नबोल्न चेतावनी दिनुभयाे । पद र मुद्दा गुमाएपनि लाेकतन्त्रका लागि रास्वपा सधैं लाेकतन्त्र र जनताकाे पक्षमा लड्ने प्रमुख सचेतक परियारले बताउनुभयाे । 'के नेपाली लाेकतन्त्र यति कमजाेर हाे ? नेपाली लाेकतन्त्रकाे हुर्मत मिडियाबाट लिने हाे ? कुन संस्थालाई कसरी निकम्मा बनाउने ? कुन पार्टीसँग कसरी द्वेष साध्ने भनेर सल्लाह गर्ने हाे ? तपाइँले खेलेकाे इतिहासकाे भूमिकाकाे प्रतिफल यही हाे ? म राजनीतिक पार्टीका अग्रज नेताहरुलाई निवेदन गर्न चाहान्छु लाेकतन्त्राथि धावा नबाेल्नुस् आज सहज हाेला भाेलि तपाइँलाई अप्ठेराेमा पार्न सक्छ'- उहाँले भन्नुभयाे ।
उपसभामुख रानालाई पदबाट हटाउने कुरालाई लोकतन्त्र मार्ने षड्यन्त्र भएको भन्दै उहाँले त्यसो गरिए सरकार र सत्तारुढ दल विरुद्ध सडक संघर्षमा जाने चेतावनी दिनुभयाे । उपसभामुखलाई पदबाट हटाए सरकार ढाल्ने चेतावनी समेत प्रमुख सचेतक परियारले बताउनुभयाे । जनताकाे सार्वभाैमसत्ता अगाडि कुनै सत्ता नटिकेकाे र नटिक्ने चेतावनी समेत उहाँले दिनुभयाे ।
आज संख्याकाे बलमा कुनै कदम चालिए भाेलि आफैंले खनेकाे खाल्डाेमा आफैं पर्नसक्नेतर्फ सत्तारुढ दललाई सचेत बनाउनुभयाे ।
