काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानामगरकाे बचाउ गरेकाे छ ।
मंगलबार बसेकाे प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा मान्य नहुने बताउनुभयाे ।
उपसभामुखलाई पदबाट हटाए माओवादीले प्रतिवाद गर्ने उहाँले बताउनुभयाे । 'माननीय उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कुरा आएको मिडियामा छ्याछ्याप्ती देखियो, यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराकाे तीव्र प्रतिवाद गर्दछ, विरोध गर्दछ'- प्रमुख सचेतक पाण्डेले भन्नुभयाे । उहाँले यस विषयमा स्पष्ट पार्न पनि सरकारकाे ध्यानाकर्षण गराउनुभयाे ।
माओवादीकै अर्का सांसद् हितबहादुर तामाङले उपसभामुखलाई महाभियाे पदबाट हटाउने गलत कदम नचाल्न सरकारकाे ध्यानाकर्षण गराउनुभयाे । 'हामी खबरदारी गर्न चाहान्छाैं, गलत कदम नचालियोस्, सरकारलाई ध्यानाकर्षण गर्न चाहन्छु'- उहाँले भन्नुभयाे ।
माओवादी केन्द्रकै सांसद् देवेन्द्र पौडेलले उपसभामुखलाई हटाउन खोजे आफूहरूले प्रतिवाद गर्ने बताउनुभयाे । 'म उपसभामुखज्यूलाई भन्न चाहन्छु हामी छौं तपाइँको साथमा, हामी प्रतिवाद गर्छाैं ढुक्क हुनुहोस्'-उहाँले भन्नुभयाे । केही गर्छु भनेर आएको एक जनजाति महिलामाथि अपमान गरिएको भन्दै सांसद् पाैडेलले सत्तामा भएका यसअघिका व्यक्तिहरूको पनि नैतिकताको विषय उठाउनुपर्ने भन्दै राजीनामा दिन तयार हो ? भन्ने प्रश्न गर्नुभयाे ।
माओवादीकै अर्का सांसद् सूर्यमान तामाङ डाेङले उपसभामुख रानामाथि प्रश्न उठाउनुअघि भुटानी शरणार्थी काण्ड के भइरहेकाे छ भन्दै प्रश्न गर्नुभयाे ।
