काठमाडाैं । सत्तारूढ नेपाली कांग्रेसका सांसद्ले पनि उपसभामुख इन्दिरा राना मगरकाे राजीनामा मागेका छन् ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै कांग्रेस सांसद् शान्ति परियारले उपसभामुख रानालाई मार्गप्रशस्त गर्न आग्रह गर्नुभयाे ।
उपसभामुख पद देशकाे प्रतिष्ठासँग जाेडिएकाे विषय भएकाे उहाँले ५ जना व्यक्तिलाई अमेरिका जानका लागि उपसभामुखले आफ्नाे लेटरप्याड प्रयाेग अमेरिकी दूतावासलाई सिफारिस गर्नु असंवैधानिक भएकाे बताउनुभयाे । 'उहाँले मार्गप्रशस्त गर्दा राम्राे हुन्छ,म उहाँलाई आग्रह गर्छु'- सांसद् परियारले भन्नुभयाे ।
सुवास नेम्वाङ जस्ताे सम्मानित व्यक्तित्व महत्वपूर्ण व्यक्तिलाई देशले गुमाएकाे भन्दै परियारले श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।
कांग्रेसकै अर्की सांसद् प्रतिमा गाैतमले उपसभामुखजस्तो पदमा रहेर असम्बन्धित व्यक्तिहरूलाई जस्केलाबाट कार्यक्रममा लैजान सिफारिस गर्नु पदीय दुरूपयोग भएकाे बताउनुभयाे । 'यो गम्भीर अपराधसमेत हो, जसका सन्दर्भमा स्वयम उपसभामुखले गत साउन ४ गते स्पष्टीकरण दिँदै धेरै कुरा स्वीकार गरिसक्नुभएको छ, यहाँ करुणा, संख्या र महिलाकाे कुरा उठ्याे, तर यहाँ विषय करुणा, संख्या र महिलाकाे हाेइन, संविधान र कानुनले व्यवस्था गरेकाे पदीय दायित्व र मर्यादाकाे कुरा हाे'- उहाँले भन्नुभयाे । सांसद् गाैतमले इमानकाे मानक राखेर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई आग्रह गर्नुभयाे ।
