काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रयोग गरेको हिंसात्मक भन्ने शब्द संसदीय मर्यादा विपरीतको शब्द नभएको स्पष्ट पार्नुभएको छ ।
भट्टराईले भदौ १२ गतेको प्रतिनिधि सभा बैठकमा प्रयोग गर्नुभएको सो शब्दका विषयमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे लगायतले आपत्ति जनाई संसद्को रेकर्डबाट हटाइयो भनि राख्नु भएको प्रस्तावको विषयमा प्रतिनिधि सभा नियमावलीमा भएको व्यवस्था, कार्य व्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल तथा सचिवालयको राय समेत लिँदा सो शब्द असंसदीय नभएको बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुखले सुनाउनुभयो । ‘विषय, प्रसङ्ग र प्रस्तुतिलाई विचार गर्दा उक्त हिंसा भन्ने शब्द असंसदीय शब्द नदेखिएको हुँदा संसद्को अभिलेखबाट हटाउनु नपर्ने ब्यहोरा जानकारी गराउँछु’, उहाँले भन्नुभयो ।
पछिल्लो समय विम्बका रूपमा प्रयोग हुने कतिपय शब्दहरूमा आपत्ति जनाउने र बहस हुने गरेको भन्दै सभामुखले त्यस्ता शब्द प्रयोग गर्दा सांसदहरूलाई सचेतता अपनाउन आग्रह गर्नुभयो ।
