काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाकाे बैठक अवरुद्ध गरेकाे छ ।
बुधबारकाे बैठकमा सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नदेखिएकाले रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएपछि माओवादी सांसद्ले बैठक अवरुद्ध गरेका हुन् ।
भदौ १२ गते नेकपा एमालेका सांसद् योगेश भट्टराईले बाेल्ने क्रममा प्रयाेग गरेकाे हिंसात्मक शब्द असंदीय नदेखिएकाले रेकर्डबाट नहटाउने निर्णय सभामुखले जानकारी गराउनुभयाे । उहाँले भन्नुभयाे - '०८१ भदौ १२ गते माननीय योगेश कुमार भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द असंसदीय रहेकाले संसद्काे अभिलेखबाट हटाउन माओवादी प्रमुख सचेतक हितराज पाण्डेले माग गर्नु भएको थियो, प्रतिनिधि सभा नियमावली २०७९ नियम २१ मा भएको व्यवस्था र भाद्र १८ को कार्यव्यवस्था परामर्श समितिको बैठकका साथै सचिवालयको रायका अनुसार हिंसा भन्ने शब्द असंसदीय नदेखिएको हुँदा उक्त शब्द रेकर्डबाट हटाउन नपर्ने व्यहोरा जानकारी गराउँछु ।'
सभामुख घिमिरेले संसद्को नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद् सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराउनुभयाे । सदनमा बोल्दा सांसद्हरुले प्रयोग गर्ने शब्द सचेततापूर्वक अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयाे - 'माननीयले बोल्दा प्रतिकात्मक शब्द प्रयोग गर्दा बहस हुने गरेको छ, अबदेखि शब्द चयनमा सतेतता अपनाउन आग्रह गर्दछु ।'
सभामुखको निर्णयपछि माओवादी प्रमुख सचेतक हितराज पाण्डेले सभामुखको निर्णय गलत भएको बताउनुभयाे । उहाँले संविधान भन्दा माथि काेही नभएकाे बताउनुभयाे ।
त्यसपछि सभामुख घिमिरे एमाले नेता रघुजी पन्तलाई बोल्न समय दिनुभयाे । पन्तले हिंसा शब्द कुनै पनि ढंगले असंसदीय नभएकाले यसमा नअल्झिन आग्रह गर्नुभयाे ।
पन्तले बोलेपछि पुनः माओवादी सांसद् माधव सापकोटाले बोल्न समय माग्नुभएकाे थियाे । सभामुखले यस विषयमा वादविवाद नगरौं भन्दै बोल्न समय दिनुभएन । त्यसपछि माओवादी माओवादी सांसद्ले उठेर विराेध गरिरहेका छन् ।
साेही विषयलाई लिएर अहिले एमाले र माओवादीका सांसद्बीच बैठकमा भनाभन चलिरहेकाे छ । सभामुखकाे निर्देशन सांसद्हरुले अटेर गरिरहेका छन् ।
