काठमाडाैं । सांसद्हरुले सदनमा संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङकाे अभाव खड्किएकाे बताएका छन् ।
बुधबार बसेकाे प्रतिनिधि सभा बैठकमा बाेल्दै सांसद्हरुले सदनमा नेम्वाङकाे अभाव खड्किएकाे बताएका हुन् । संविधान निर्माण र संसद्लाई प्रभावकारी बनाउने विषयमा नेम्वाङले दिएको योगदान अतुलनीय रहेकाे उनीहरु स्मरण गरे ।
संविधानसभा अध्यक्ष, प्रतिनिधि सभा सदस्य, पूर्व सभामुख तथा नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङकाे आज प्रथम स्मृति दिवस हाे ।नेम्वाङको ०८० भदौ २६ निधन भएको थियो ।
प्रतिनिधि सभा बैठकमा बाेल्दै एमाले प्रमुख सचेतक महेश बर्ताैलाले संसद्लाई रचनात्मक र सृजनात्मक ढंगले अघि बढाउन नेम्वाङले नेतृत्वदायी भूमिका खेल्नुभएकाे स्मरण गर्नुभयाे । नेम्वाङले संविधान निर्माण र नेपालकाे संसदीय व्यवस्थाको मूल्य र मान्यतालाई स्थापित गराउन खेल्नुभएकाे नेतृत्वदायी र सन्तुलित भूमिकाको नेपाली जनताले सदास्मरण गरिरहने उहाँले बताउनुभयाे । 'आज भदौ २६ गते सुवासचन्द्र नेम्वाङको निधन भएको प्रथम स्मृति दिवस, नेपालको संविधान निर्माणका लागि असाधारण भुमिका निर्वाह गर्नुभएका, नेपालको संसदीय प्रक्रिया र संसदीय व्यवस्थामा समेत उहाँले सिंगो संसद्लाई रचनात्मक र सृजनात्मक ढंगबाट अगाडि बढाउन असाध्यै नेतृत्वदायी र असाधारण भूमिका निर्वाह गर्नुभएको थियो त्यस्तो व्यक्तित्व हामीले गुमायौं, म उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु, उहाँले आफ्नो जीवनकालमा नेपालको एउटा संसदीय प्रणालीलाई जीवन्त राख्नका लागि, संविधान निर्माणका लागि खेल्नुभएको असाधारण भूमिकाप्रति सदैव नेपाली जनताले सम्झिरहने छन् ।'
प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले स्वर्गीय नेम्वाङको विचार र व्यक्तित्वबाट सिक्न सांसद्हरुलाई सुझाव दिनुभयाे । उहाँले नेम्वाङले संविधान निर्माण गर्नका लागि महत्वपूर्ण निर्वाह गर्नुभएकाे स्मरण गर्नुभयाे । 'यतिखेर म हाम्रो दलको तर्फबाट र आफ्नो तर्फबाट समेत सम्माननीय संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्दछु, उहाँले संविधान निर्माण गर्नका लागि निर्वाह गर्नुभएको महत्वपूर्ण जो भूमिका छ त्यसलाई स्मरण गर्छु, उहाँले जसरी संविधानसभा मात्रै होइन, प्रतिनिधि सभा सँगसँगै समग्र कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन सहकार्यका लागि जो सन्तुलित भूमिका निर्वाह गर्नुहुन्थ्यो, त्यसका लागि पनि उहाँको विचार, व्यवहारबाट सिक्न म सम्माननीय सभामुखज्युमार्फत समग्र यस सभाका माननीय सदस्यहरुसँग आग्रह गर्दछ'- पाण्डेले भन्नुभयाे ।
प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् मनिष झाले संसद्मा नेम्वाङको नेतृत्व र व्यक्तित्वकाे अभाव महशुस भइरहेको बताउनुभयाे ।नेम्वाङ सबैका ‘मेन्टर’ को रुपमा रहेको उहाँले स्मरण गर्नुभयाे । संसद्मा नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने शालिन, सन्तुलित र साझा व्यक्ति नेम्वाङको याद आइरहेकाे सांसद् झा ले बताउनुभयाे । 'हामी केही सिमित भाग्यमानी राजनीतिज्ञहरुमध्ये केही समय उहाँसँग संगत गर्न पाएका थियौं, मैले उहाँसँग एक पटक सँगै युरोप भ्रमण गर्ने अवसर पनि पाएकाे थिएँ, त्यो बेलामा धेरै कुरा सिक्न पाएको थिए, एउटा शालिन व्यक्तित्व, एउटा सन्तुलित व्यक्तित्व, एउटा साझा व्यक्ति हाम्रो लागि हुनुहुन्थ्यो, आज सदनमा यताबाट उता सर्ने बित्तिकै हामीले आफ्नो जुन आचरणहरुमा परिवर्तन लिएर आउँछौं र आफ्नो बोलीहरुमा परिवर्तन लिएर आउँछौं, त्यो बेलामा त्यो सन्तुलित व्यक्तित्व अझै त्यसको कमी महशुस हुन्छ, हामीलाई त्यो साझा व्यक्तित्व अझै चाहिएको छ जस्तो महशुस हुन्छ'- उहाँले भन्नुभयाे ।
बैठकमा बाेल्दै कांग्रेस सांसद् शान्ति परियारले सुवास नेम्वाङ जस्ताे सम्मानित र महत्वपूर्ण व्यक्तिलाई देशले गुमाएकाे भन्दै श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।
एमालेका सांसद् अच्युतप्रसाद मैनालीले नेम्वाङलाई लाेकतान्त्रिक आन्दाेलनका व्यक्तित्वकाे रुपमा स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयाे ।
ऋषिकेश पाेख्रेल, भगवति चाैधरी, प्रतिमा गाैतम, अनिशा नेपाली, अर्जुननरसिंह केसी, अमृतलाल राजवंशी लगायत सांसद्ले प्रतिनिधि सभा बैठकबाट नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरे ।
बुधबार नै संघीय संसद् भवनमा सभामुख देवराज घिमिरे लगायत सांसद्हरुले नेम्वाङकाे तस्विरमा पुष्पगुच्छा अर्पण गरे श्रद्धाञ्जली अर्पण गर्नुभएकाे छ ।
