काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्म अनुसारका चलेको सहकारी संकटमा नरहेका बताउनुभएको छ ।
सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको शनिबार सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले त्यस्ता सहकारीहरू नडुब्ने र तिनले कसैलाई नडुबाउने पनि बताउनुभयो । सहकारीमा अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिको प्रवेशले सो क्षेत्रमा विकृति आएको ओलीले बताउनुभयो ।
अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रूपमा संवैधानिक व्यवस्था गरिएकाले आफूहरूले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्त्व दिएको ओलीले स्पष्ट गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकार अनियमितता, बेथिति, ठगी, किर्तेजस्ता गलत कामलाई नियन्त्रण गर्न सजग रहेको पनि बताउनुभयाे ।
विश्वमा अर्थतन्त्र संकटमा परेको बेला सहकारी जन्मिएकाले अर्थतन्त्रलाई जोगाउन सहकारीको महत्पूर्ण भूमिका हुने ओलीले बताउनुभयो । ‘स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरूमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्त्वपूर्ण पक्षहरू छन्’, उहाँले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले छानबिन समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आउने विश्वास व्यक्त गर्नुभयो । समितिले सरकारलाई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्ने उहाँले विश्वास दिलाउनुभयो ।
