संघीय संसद्को दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसाे १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आव २०७९-८०' पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको 'बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले 'बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने पनि कार्यसूची छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले 'विधायन व्यवस्थापन, २०८१ लाई पारित गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
दिउँसाे सभा १ बजे बस्ने राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची छ ।
बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले 'विकास आर्थिक मामिला तथा सुशासन समितिको आव २०८०-८१ को वार्षिक प्रतिवेदन' सभासमक्ष पेस गर्नुहुने कार्यसूची रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले 'संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आव २०८०-८१ को वार्षिक प्रतिवेदन' सभा समक्ष पेस गर्नुहुनेछ ।
बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको 'सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७' का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएकाे छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले 'प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्' भनि प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । उहाँले 'प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको नेपाल विश्वविद्यालय विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस्' भन्ने प्रस्ताव पनि उहाँले प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची पनि रहेकाे संसद् सचिवालयले जनाएकाे छ ।
