काठमाडौं । राष्ट्रिय सभाको दुई वटा विषयगत समितिले सभापति पाएका छन् ।
साेमबार भएकाे चुनावमा विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसाकुमारी दाहाल निर्वाचित हुनुभएकाे छ ।
दाहाल ८ मत पाएर सभापतिमा निर्वाचित हुँदा उहाँका प्रतिष्पर्धी एकीकृत समाजवादीकी जयन्ती राईले ७ मत ल्याउनुभयाे । साे समितिकाे सभापतिका लागि दाहाल र राईकाे उम्मेदवारी परेकाे थियाे ।
राष्ट्रिय सभाकै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका सांसद् मायाप्रसाद शर्मा निर्वाचित हुनुभएकाे छ । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको मात्र एकल उम्मेदवारी परेकाे थियो ।
उहाँहरु दुवै जनाले आज नै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल समक्ष पद तथा गाेपनीयताकाे शपथ लिनुभएकाे छ ।
