काठमाडाैं । नेकपा माओवादी केन्द्रले जनयुद्धलाई हिंसा भन्नु आपत्तिजनक रहेकाे दाेहाेर्याएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठककाे आकस्मिक समयमा बाेल्दै माओवादी सांसद् शक्ति बस्नेतले माओवादी जनयुद्धलाई हिंसा भनिएकाेमा आफूहरुकाे कडा आपत्ति रहेकाे बताउनुभयाे ।
जनयुद्धलाई हिंसा भन्नु विस्तृत शान्ति सम्झौता र संविधानविपरीत भएकाे दाबी पनि उहाँले गर्नुभयाे । हिंसा शब्दकाे निरपेक्ष अर्थ नहुनेमा आफूहरु स्पष्ट रहेकाे भन्दै सांसद् बस्नेतले सत्तापक्ष सांसद्बाट व्यक्त भाव र सन्दर्भले जनताकाे बलिदानीपूर्ण संघर्षकाे इतिहासलाई अपमानित र लाञ्जित गर्नुका साथै विस्तृत शान्ति सम्झाैताकाे मर्म र अन्तरवस्तु तथा संविधानकाे अक्षर स्प्रिड विपरीत समेत रहेकाे दाबी गर्नुभयाे ।
जनयुद्धलाई हिंसा भन्नु संविधान नियमावलीकाे प्रतिकूल पनि रहेकाे दाबी गर्दै उहाँले याे हरेक दृष्टिले अनुपयुक्त रहेकाे दाबी गर्नुभयाे । 'सरकारकाे नेतृत्व गरेकाे दलका सांसद्ले माओवादी जनयुद्धलाई सशस्त्र संघर्षकाे मूल्य,ओझ, विस्तृत शान्ति सम्झाैता र संविधानकाे भावनालाई लाञ्छित र अपमानित गर्नेगरी १० वर्षकाे सशस्त्र संघर्ष र जनयुद्धलाई माओवादी हिंसाकाे रुपमा चित्रण गर्ने काेशिसहरु भए, जुन राजनीतिक मूल्य, नैतिकता र संवैधानिक निष्ठाकाे दृष्टिले अनुपयुक्त भएकाे हाम्राे ठहर छ'- सांसद् बस्नेतले भन्नुभयाे ।
हिंसा शब्दलाई असंसदीय शब्द नभएर जनताकाे त्याग र बलिदानलाई अपमान गर्ने शब्दकाे रुपमा आफूहरुले लिएकाे उहाँले बताउनुभयाे । त्यसलाई अपमानजनक शब्द मात्र नभएर ताेडमाेड गर्ने प्रयासका रुपमा लिइएकाे सांसद् बस्नेतले बताउनुभयाे । जनयुद्धलाई हिंसा भन्नु सांसद् व्यक्तिगत विचार हाे कि ? पार्टीकाे हाे कि ? सरकारकाे भन्ने प्रष्ट पार्दै सच्याउन समेत समेत उहाँले माग गर्नुभयाे ।
