काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालले नेपालको भूमि भारत हो भनि बोल्ने प्रतिनिधि सभा सदस्यलाई राष्ट्र द्रोहको मुद्दा लगाउनु पर्ने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक सयमा बोल्दै ढकालले सो अभिव्यक्ति राष्ट्र र संविधान विरोधी भएको बताउनुभयो । नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले एक टेलिभिजन अन्तरवार्तामा लिपुलेक र कालापानीमा भरतको दाबी पुग्ने र त्यो भारतकै भूमि भएको अभिव्यक्ति दिनुभएको थियो । त्यसप्रति विरोध जनाउँदै ढकालले भन्नुभयो–‘यस्तो अभिव्यक्ति राष्ट्रघाती कुरा हो, संविधान विरोधी कुरा हो, देशद्रोही कुरा हो, राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई खण्डित गर्ने कुरा हो, तीनकरोड नेपाली जनतालाई अपमान गर्ने कुरा हो, राष्ट्रिय भावनामा आँच आउने कुरा हो, देशलाई कमजोर बनाउने कुरा हो, विदेशी प्रभुलाई खुसी बनाउने कुरा हो, यो दक्षिणपन्थी अवसरवादको उच्च प्रदर्शन हो’, उहाँले भन्नुभयो ।
विगतमा पनि एक प्रतिनिधि सभा सदस्यले संविधान विरोधी अभिव्यक्ति दिँदा पार्टीले कारबाही गरेर सांसद् पद नै गएको उहाँले स्मरण गराउनुभयो । ‘यो नेपालको भूभाग होइन भनेर यस्ता गैरजिम्मेवार अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहीको मुद्दा लगाउन म सभामुख महोदयलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो ।
सो विषय हल्का ढङ्गले उठाएको विषय नभएको उहाँले दाबी गर्नुभयो । राष्ट्रमा कस्तो प्रतिक्रिया आउँछ भनि सो विषयवस्तु उठाइएको उहाँले बताउनुभयो ।
