काठमाडौं । प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सचिव समेत रहनुभएका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले प्रयोग गर्नुभएको माओवादीको हिंसात्मक आन्दोलन भन्ने शब्द नहटाउँदासम्म संसद्को अवरोध नहटाउने अडान लिएको माओवादी आफ्नो निर्णयबाट पछि हटेको छ ।
सोमबार प्रतिनिधि सभा बैठकमा माओवादीका सांसद शक्ति बस्नेतले भट्टराईको अभिव्यक्ति माओवादीको युद्धलाई अपमान गर्ने खालको भएकोले त्यसको विरोध रहिरहने तर प्रतिनिधि सभा बैठक चल्न दिने पार्टीले निर्णय गरेको जानकारी दिनुभयो । महत्त्वपूर्ण कानुनहरू टुङ्गोमा पुर्याउनु पर्ने तथा प्रधानमन्त्रीको सम्बोधन समेत रहेकोले प्रतिनिधि सभा बैठक अवरोध नगर्ने निर्णय भएको उहाँले बताउनुभयो ।
यस अघि माओवादीले बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आयोजना गर्नुभएको छलफलमा माओवादीले आफ्नो सो अडान कायम राखेको थियो । माओवादीको बैठकले समेत संसद् बैठक अवरुद्ध गर्ने निर्णय गरेको थियो ।
संविधानले नै सशस्त्र संघर्षका रूपमा परिभाषित गरेको माओवादीको युद्धलाई नजरअन्दाज गर्दै सरकारको नेतृत्व गरेको दलका सांसदले सो सशस्त्र आन्दोलनलाई हिंसात्मक भनि महान् जनयुद्धको अपमान गर्ने काम गरिएको उहाँले बताउनुभयो । ‘यो राजनीतिक मूल्य, नैतिकता र संवैधानिक दृष्टिकोण सबै हिसाबले अनुपयुक्त रहेको हाम्रो ठहर छ’, बस्नेतले भन्नुभयो ।
माओवादीको युद्धकै जगबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म मुलुक आइपुगेको कुरा नबिर्सन उहाँले आग्रह गर्नुभयो । माओवादीको युद्धको अपमान गर्दा गणतन्त्रको नै अपमान हुने उहाँले दाबी गर्नुभयो ।
