काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणको क्रममा कोलम्बिया र हार्वड विश्वविद्यालयमा पनि सम्बोधन गर्नुहुने भएकाे छ ।
साेमबार बसेकाे प्रतिनिधि सभा बैठकमा आफ्नाे आसन्न अमेरिका भ्रमणबारे जानकारी दिने क्रममा प्रधानमन्त्री ओलीले कोलम्बिया र हार्बर्ड विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयाे ।
आफू संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन असोज ४ गते अमेरिका प्रस्थान गर्ने उहाँले बताउनुभयाे । 'यसपल्ट मैले न्यूयाेर्कस्थित धेरै विद्वान जन्माएकाे काेलम्बिया विश्वविद्यालयमा एउटा सम्बाेधन गर्नेछु, हार्वड विश्वविद्यालयमा पनि सम्बानेधन गर्नेछु, नेपालकाे प्राज्ञिक क्षेत्रबाट विश्वको ध्यान नेपाल, नेपालका दृष्टिकोण, नेपालको अवस्था र नेपालले चाहेको कुरा बताउनेछु'- प्रधानमन्त्री ओलीले भन्नुभयाे ।
राष्ट्रसंघकाे महासभामा राष्ट्रहितको पक्षमा केन्द्रित हुने भन्दै उहाँले राष्ट्रका विषय, चुनाैती र अभिभारामा केन्द्रित भएर छलफल गरिने बताउनुभयाे । जलवायु परिवर्तन र यसबाट नेपालले अकारण ब्यहाेर्नुपरेकाे क्षतिबारे पनि आफूले कुरा गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
यसपल्ट महासभामा सामान्य विषय नभएर विभिन्न विषय उठ्ने भन्दै उहाँले फिउचर समिट जस्ता कार्यक्रम त्यहाँ हुने बताउनुभयाे । त्यस समिटमा आफूले राम्ररी आफ्ना दृष्टिकाेण राख्ने प्रधानमन्त्री ओलीले जानकारी दिनुभयाे । समुद्रकाे सतह बढेकाे विषय पनि राष्ट्रसंघकाे महासभामा उठ्ने भन्दै उहाँले समुद्र र हिमालकाे इकाे सिस्टमबारे बृहत् छलफल हुने बताउनुभयाे ।
ड्रग्सकाे अन्त्यकाे विषय पनि आफूले उठाउने प्रधानमन्त्री ओलीले बताउनुभयाे ।
