यकाठमाडाैं । प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ आज हुँदैछ ।
सिंहदरबारस्थित विकास आर्थिक मामिला तथा सुशासन समितिको हलमा दिउँसाे १ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा प्रधानन्यायाधीश राउतको सुनुवाइका विषयमा छलफल हुन लागेकाे हाे ।
छलफलपछि समितिले सर्वोच्च अदालतकाे प्रधानन्यायाधीशका लागि सिफारिस राउतको सुनुवाइ गर्नेछ । राउतलाई समितिको बैठकमा बोलाइएको छ। संवैधानिक परिषद्काे गत भदौ ३१ गतेको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेकाे थियाे ।
समितिकाे आजकाे बैठकमा बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल र अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवकाे पनि सुनुवाइ हुनेछ ।
समितिले हिजो प्रस्तावित न्यायाधीश र राजदूतद्वयविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग छलफल गरेको थियाे । समितिमा प्रस्तावित प्रधानन्यायाधीश राउतविरुद्ध ६ र राजदूतद्वय लम्साल र यादवविरुद्ध १-१ वटा उजुरी परेका छन् ।
