काठमाडाैं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तरव्यवस्थापिका संघ (आइपीयू) का अध्यक्ष डा. तुलिया अक्सन र महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गर्नुभएकाे छ ।
स्वीटजरल्याण्डको जेनेभामा भएको भेटमा उहाँहरुबीच नेपालको संघीय संसद् र अन्तरव्यवस्थापिका संघसँगको आपसी सहकार्य, सहयोग आदान प्रदान, लोकतन्त्रका लागि संसदीय भूमिका लगायत विषयमा कुराकानी भएको अध्यक्ष दाहालकाे सचिलवालयले जनाएकाे छ ।
भेटमा अध्यक्ष दाहालले आइपीयूका विभिन्न सभा तथा कार्यक्रमले लोकतन्त्र, मानव अधिकार, लैंगिक समानता, युवा सशक्तिकरण, दिगो विकास लगायत सवालमा संवाद, सहकार्य र असल अभ्यासहरुको आदान प्रदानबाट संसदीय भूमिका प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयाे ।
अध्यक्ष दाहालले संसदीय अभ्यास थप परिस्कृत गर्न र लोकतान्त्रिक संस्थाहरु थप सुदृढ गर्न अन्तर व्यवस्थापिका संघसँग आफूहरुले बलियो र घनिष्ट सहकार्य गर्न इच्छुक रहेको बताउनुभयाे । उहाँले आइपीयूसँग सिधा सम्पर्कमा रहन यसको सचिवालयमा नेपालको पनि सहभागिता गराउनतर्फ सोच्न आग्रह गर्नुभयाे ।
संविधान सभाबाट जारी संविधानमार्फत् नेपालले महिला, अल्पसंख्यक, सीमान्तकृत समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न समावेशी र समानुपातिक प्रणाली अवलम्बन गरेको भन्दै अध्यक्ष दाहालले संघीय संसद्मा ३३ प्रतिशत तथा प्रदेश र स्थानीय तहमा ४१ प्रतिशत महिलाहरु जनप्रतिनिधिको रुपमा सहभागी रहेको जानकारी पनि गराउनुभयाे ।
लोकतन्त्रका लागि, सबैका लागि भन्ने आदर्शमा अडिग रहँदै अन्तर व्यवस्थापिका संघले स्थापनाकाल देखि नै लोकतान्त्रिक मूल्यमान्यता, लोकतान्त्रिक पद्दति र लोकतान्त्रिक संस्था प्रवर्द्धनमा अहम् भूमिका निर्वाह गर्दै आएको छ ।
अन्तर व्यवस्थापिका संघका अध्यक्ष अक्सनले नेपालले विगतदेखि नै आइपीयूमा सक्रिय सहभागिता जनाएको भन्दै खुसी व्यक्त गर्नुभयाे । नेपालको संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागी हुनु निकै प्रशंसनीय रहेको भन्दै उहाँले समावेशीकरणमा नेपालले राम्रो काम गरिरहेको बताउनुभयाे ।
आइपीयूको सचिवालयलाई अझै व्यवस्थित बनाउन लागिरहेको भन्दै अध्यक्ष तुलियाले आइपीयू सचिवालयमा नेपाली प्रतिनिधित्व गराउन आफूले पहल गर्ने बताउनुभयो ।
भेटमा नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरुको पनि सहभागिता थियो ।
