काठमाडौं । अन्तर-व्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा रहनुभएका राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र थाइल्याण्डको सिनेटका अध्यक्ष मोङकोल सुरसज्जाबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल नेतृत्वकाे नेपाली संसदीय टाेली र सुरसज्जासहितको थाइ संसदीय टोलीबीच बुधबार भेटवार्ता भएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हितका साथै आगामी दिनमा गर्न सकिने सहकार्य र सहयोगका विषयमा छलफल अध्यक्ष दाहालकाे सचिवालयले जनाएकाे छ ।
भेटमा राष्ट्रिय सभा अध्यक्ष दाहालले नेपाल र थाइल्याण्डबीचको कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण रहेको चर्चा गर्दै लुम्बिनी, गौतम बुद्ध र बौद्ध धर्मले नेपाल र थाइल्याण्डका जनताबीच बलियो सम्बन्ध सेतुको काम गरेको बताउनुभयो । थाइ पर्यटकका लागि भगवान बुद्धको जन्मस्थल लुम्बिनी महत्वपूर्ण धार्मिक एवं पर्यटकीय गन्तव्यका रुपमा रहेको भन्दै उहाँले थाइ सरकारले लुम्बिनी पवित्र बगैंचामा थाइ शैलीको बिहार निर्माण गरेर थाइ पर्यटकलाई नेपाल भित्र्याउन थप मद्दत गरेकोमा खुशी व्यक्त गर्नुभयो। दुवै देशका नागरिक वर्षेनी पर्यटकको रुपमा आउने जाने गरिरहेको भन्दै उहाँले उच्च शिक्षा, बौद्ध धर्मसम्बन्धी अध्ययन, लगानी, व्यापार, पर्यटन लगायत माध्यमबाट नेपाल-थाइल्याण्डबीच जनस्तरको सम्बन्ध प्रगाढ हुँदै गइरहेको आफूले पाएकाे अध्यक्ष दाहालले बताउनुभयाे ।
आफूहरुले नेपाल-थाइल्याण्ड संसदीय मैत्री समूह गठन गरेको भन्दै अध्यक्ष दाहालले मैत्री समूहमार्फत् दुई देशका संसद्ले संसदीय अभ्यास, कानुन निर्माण, अनुभव आदानप्रदान गरि लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
साझा सरोकार र आपसी हितका विषयहरुमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा दुवै देश आपसी सहयोग र सहकार्य गर्दै आएको भन्दै अध्यक्ष दाहालले दुई देशबीचको सांस्कृतिक सम्बन्धका साथै आपसी हितका सबै आयामहरुमा थप सहकार्य गर्दै अघि बढनु आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा थाइल्याण्ड सिनेटका अध्यक्ष सुरसज्जाले नेपाली संसदीय टोलीसँगको भेट र सम्मानले आफूलाई निकै खुसी लागेको भन्दै यस किसिमको भेटघाट र छलफलले द्विपक्षीय सम्बन्ध बढाउन सहयोग पुग्ने बताउनुभयो । बहुसंख्यक थाइ जनताले बौद्ध धर्म मान्ने गरेको भन्दै अध्यक्ष सुरसज्जाले बुद्ध जन्मभूमि नेपाल आफ्नो पनि सपनाको गन्तव्य भएको बताउनुभयाे ।
नेपालको हस्पिटालिटीमा थाइल्याण्डबाट भएको लगानीले रोजगारी सिर्जनामा राम्रो सहयोग भइरहेको भन्दै उहाँले आगामी दिनमा पनि दुवै देशको हितमा आर्थिक विकासका कामहरु गर्न सकिने बताउनुभयो ।
थाइ पर्यटकहरुको लागि बुद्ध जन्मभूमि लुम्बिनी निकै महत्त्वपूर्ण पर्यटकीय स्थल भएको भन् अध्यक्षदै सुरसज्जाले लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आए थाइ पर्यटकहरुलाई धेरै सहज हुने बताउनुभयाे ।
